IMG-LOGO

रेडक्रसद्वारा विपद् व्यवस्थापन सम्बन्धी तालिम

 मंगल, भदौ ३, २०८२  --

     बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाले विपद् व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न गरेको छ । बिहीबार र शुक्रबार गरि सम्पन्न तालिममा शाखा अन्तर्गत सञ्चालित बाढीपहिरो पुनर्लाभ कार्यक्रमबाट कार्यक्रम सञ्चालित स्थानीय निकायका विपद् सम्पर्क ब्यक्ति, जिल्ला शाखाका स्वयंसेवक, उपशाखाका स्वयंसेवक गरी कुल २४ जना सहभागी थिए । तालिममा विपदपश्चात तत्काल गरिने प्रारम्भिक द्रुत लेखाजोखा, सुचना ब्यबस्थापन र बिपद् पश्चात् प्रभावितहरुको खोज तथा उद्दार, राहत वितरण र पुनर्लाभको चरणहरुमा अपनाउनु पर्ने न्यूनतम आधारभूत मानवीय मापदण्डसम्बन्धी विषयमा छलफल भएको थियो ।

     तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बिपद्को पूर्वतयारी तथा विपद्पश्चातको अवस्थामा नेपाल रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुहुँदै यस तालिम पश्चात प्रशिक्षार्थीहरुले विपद्को अवस्था श्रृजना भएको खण्डमा विपद्बाट भएको क्षतिको विवरण संकलन लगायतमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । यस तालिमबाट सहभागीहरुले विपद्को बेला तालिममा सिकेको कार्य व्यवहारमा उतार्न सक्ने विश्वास व्यक्त गर्नुभयो । यसका साथै विपद्को लागि पालिकाहरुले २ सय जनाहरुलाई पुग्ने राहत सामग्रीहरु मौज्दात राख्नुपर्ने सुझाव प्रजिअ ढकालले दिनुभयो ।

     काभ्रे शाखाका सभापति देबेन्द्रप्रसाद भैलले विपद् परेको २४ घण्टाभित्र रेडक्रसका तालिम प्राप्त व्यक्तिहरुलाई राहत र उद्धारको लागि खटाउने उद्देश्यले यो तालिम प्रदान गरेको उल्लेख गर्नुभयो । उहाँले काभ्रे जिल्लाका १९ उपशाखा र जिल्ला शाखाका ७ जना व्यक्तिहरुलाई सहभागी गराएको उल्लेख गर्नुभएको थियो ।

     सो कार्यक्रममा प्रशिक्षक शेरबहादुर कार्की, सिर्जना देवकोटा र मधुसुदन थापाले प्रशिक्षण दिनुभएको थियो भने निवर्तमान सभापति रघुनाथ हुमागाईंले स्वागत मन्तव्य दिनुभएको थियो । त्यस्तै कार्यक्रमको उद्देश्यमाथि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका उपनिर्देशक शेरबहादुर कार्कीले प्रकाश पार्नुभएको थियो ।

     कार्यक्रमको दोस्रो दिन चण्डेनी उपशाखाका सभापति माधव नेपाल, कानपुर उपशाखा सभापति चमारसिं लामाले कार्यक्रमको समीक्षा गर्नुभएको थियो भने भुम्लु उपशाखाका सभापति मञ्जु शाहले यस्ता तालिम कार्यक्रम पालिकै पिच्छे पु¥याउन जिल्ला शाखालाई अनुरोध गरिन् । आफूले लिएको तालिम रेडक्रसमा रही दत्तचित्त भई काम गर्ने वचनबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले निकट भविष्यमै आफ्नो उपशाखाले कार्यक्षेत्रभित्र पूरै वडा समेटी तालिम राख्ने उल्लेख गर्नुभयो ।

     प्रमाणपत्र वितरण गर्दै सभापति देवेन्द्रप्रसाद भैलले तपाईंहरुले सिकेका तालिमका अनुभवहरुलाई जिल्लाभर खटिई काम गर्नुपर्ने बताउँदै रेडक्रस जिल्ला शाखाले २ करोडको अक्षयकोषमा सम्पूर्ण रेडक्रसकर्मीहरु प्रतिवद्ध भइ लाग्नुपर्ने उल्येख गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्