काभ्रे टाइम्सका पुर्व सह सम्पादक समेत रहेका स्रस्टा प्रकाश सापकोटाले कवितासंग्रह ‘सन्नाटाका सुस्केरा’ ल्याएका छन् । उनको कृति हालै एक समारोह बीच राजधानीमा लोकार्पित भयो । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा राजधानीमा वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारी, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, सुस्मिता नेपाल, राधेश्याम लेकाली लगायतले सापकोटाको संग्रह लोकार्पण गरे ।
कवि अधिकारीले प्रकाशका कवितामा सरलपन देखिएको बताए । संग्रहमाथि चर्चा गर्दै यादव भट्टराईले नेपाली समाजमा भएका हरेक घटनालाई सरल तरिकाले कवितामा समेटेका छन् । उनले प्रकाशका कविता शीर्षकको केन्द्रीयतामा घुमेको बताए ।अर्का चर्चाकार सञ्चारकर्मी एवं कवि ठाकुर बेलवासेले कविताले पाठकको मन झंक्रित बनाउन सक्ने कविको मन नेपालमै रहेको बताए ।कवि प्रकाश दुई दशक देखि परदेशमा छन् हाल डेनमार्कमा बस्दै आएका प्रकाशको यो कान्छो कृति हो । कवि विश्व सिग्देल, दीपक चौलागाईं, रुपा रिसाल लगायतले लोकार्पित संग्रहका कविता वाचन गरे । संग्रहलाई सुनकोशी वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।
