वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले नागरिकलाई विभिन्न समयमा आएका दुःखमा रेडक्रसले अभिभावकत्व लिएर सहयोग गरेको चर्चा गर्नुभएको छ । निःशुल्क रगत उपलब्ध गराउन २ करोड अक्षयकोष स्थापनार्थ रकम संकलन अभियानको घोषणा कार्यक्रमलाई बनेपामा आईतवार सम्बोधन गर्दै उहाले जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने साझा धारणा रहेको उल्लेख गर्नुभयो । भूकम्प, बाढी–पहिरो लगायत प्राकृतिक विपत्तीमा रेडक्रसले निकै सहयोग गरेको स्मरण गर्दै उहाँले रेडक्रस अभियानको प्रशंसा गर्नुभयो । विशेष अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले रेडक्रसको अभियानलाई नगरले सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग जारी रहने जानकारी दिदै व्यक्तिगत रुपमा ५० हजार नगद सहयोगको घोषणा पनि गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले रेडक्रसको अभियानले विशेषगरि विपद्को समयमा पवित्र कार्य गरिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा रेडक्रसलाई विभिन्न समयमा विभिन्न शीर्षकमा सहयोग गर्नेहरुलाई सम्मान पनि गरिएको थियो । रेडक्रस काभ्रे शाखाका सभापति देवेन्द्रप्रसाद भैलले दुई करोड संकलन गरि अक्षयकोष खडा गर्ने र त्यसबाट आउने ब्याजबाट जिल्लाभर रगतको अभाव हुन नदिन कार्यक्रम गरिने जानकारी दिनुभयो । अभियानमा करिब ६० जना व्यक्ति र संघ संस्थाले सहयोगको घोषणा गरिसकेको र केहीले रकम पनि उपलब्ध गराइसकिएको मन्त्री एवं अक्षयकोष संकलन समितिका संयोजक राजु सिग्देलले जानकारी दिनुभयो । कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सल्लाहकार श्यामसुन्दर श्रेष्ठ लगायतले अभियानको लागि सबैको साथ र सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो । कार्यक्रममा रेडक्रस उपशाखाका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
