काठमाडौँ —२०८१ असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ । भकुण्डेबेंसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०.५ किमिमा दुई लेन सडक निर्माण गर्न लागिएको हो । अहिले काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एकसहित तीन खण्ड बनाएर ठेक्का सम्झौता गरिएको हो ।
भकुण्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमि खण्डमा ठेक्का सम्झौता भइसकेको छ । उक्त खण्डको ठेक्का लामा–नव कान्तिपुर जेभीले लिएको सडक विभागले जनाएको छ । उक्त खण्डमा भ्याटबाहेक १ अर्ब १४ करोड रुपैयाँमा सम्झौता भएको हो । चारसयबेंसीदेखि डालाबेंसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको छ ।
दुवै ठेक्काको सम्झौता गत असारमा भएको र सम्झौता भएको मितिले दुई वर्षभित्र काम सकिसक्नुपर्ने सडक विभागले जनाएको छ । यही राजमार्गको ५ किमि खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काम गर्ने भनेर विभागले यसबाहेकको खण्डमा मात्र ठेक्का आह्वान गरेको थियो । पछि जाइकाले पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किमि सडक बनाउन तयार भएको हो, जुन खण्डको अहिले जाइकामार्फत सर्भेको काम अन्तिम चरणमा पुगेको छ । उक्त खण्ड जापान सरकारको अनुदानमा बन्न लागेको सडक विभागले जनाएको छ ।
जापानको २ अर्ब ६३ करोड रुपैयाँ (नेपाली रुपैयाँ) अनुदान सहयोगमा बनाउन लागिएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्यालले बताउनुभयो । ‘हामीले निर्माण थालेको सडक पिच हुने समय सम्म जापानले गर्ने सडक खण्ड सन् २०२७ जुलाईसम्म एउटै तहको बनाई सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाउन भनेका छौं,’ उहाँले भन्नुभयो । क्रमागतरुपमा उक्त खण्डको पिच हुनेछ ।’
