धुलिखेल–खावा सडकको नयाँ ठेक्का आह्वान भएको छ । सडक डिभिजन कार्यलय भक्तपुरले पुरानो ठेक्का रद्ध गर्दै नयाँ बोलपत्र प्रकाशन गरेको हो । ४२ करोडको स्रोत सुनिश्चितता गर्दै १४ महिनामा काम सम्पन्न गर्नेगरी ठेक्का आह्वान भएको छ । अरनिको राजमार्ग अन्तर्गत पर्ने उक्त सडकखण्डको पुरानो ठेक्का रद्ध भएपछि निर्माण प्रकृया बारे अन्योलता थियो । निर्माण कार्यमा ढिलासुस्ती हुँदा ३ वर्षदेखि राजमार्गको यात्रा कष्टकर छ । यो मार्ग चीनसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बुजस्ता जिल्लातर्फ जाने मुख्य सडकको रूपमा समेत रहेको छ । ३ वर्ष अघि देखि सडक नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबिच यात्रा गर्न बाध्य छन् । स्थानीय धुलोले हैरान छन् । सडक निर्माणमा ढिलासुस्ती भएपछि संसद्को पुर्वाधार विकास समितिले अनुगमन पनि गरेको थियो । यस्तै पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले धेरै पटक धुलिखेल–खावा सडक सवालमा संसदमा आवाज उठाउँदै आउनुभएको थियो ।
