आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले बनेपाबाट एक युवकलाई पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं.१३ का ३७ वर्षिय सन्तोष सुनारले प्रेमिका ३३ वर्षीय शर्मिला उप्रेतीको हत्या गरेका थिए । प्रहरीका अनुसार डेटिङका लागि बनेपा–१३ भगवान थुम्की सामुदायिक जंगलमा लगेर हत्यापछि प्रेमिकाको शव फालेको सुनारले बयानमा भनेका छन् । मन्थलीका सुनार र चौरीदेउराली गा.पा – १ कि उप्रेती दुई बर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । उप्रेतीको शव साउन ४ गते सोही जंगलको भिरालोमा चिलाउनेको रुखको फेदमा कोल्टो अवस्थामा फेला परेको थियो । सुरुमा पहिचान नखुलेको सो शव इलाका प्रहरी कार्यालयको टोली र धुलिखेल अस्पतालको फरेन्सिक डाक्टर सहितको टोली खटी गई प्रारम्भिक अनुसन्धान गरिएको काभ्रे प्रहरी प्रवक्ता एवं डिएसपी मिनबहादुर घलेले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो । मृतक महिलाका बाबु कमल बहादुर उप्रेतीले शवको सनाखत गरेका थिए । असार ३२ गते देखी हराएकि उप्रेतीको हत्या गरि भागेका सन्तोष सुनारलाई साउन ४ गते मध्यराती बनेपा नगरपालिका–१० स्थित लुकीछिपी बसेको अवस्थामा ईट्टाभट्टाबाट पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चार दिनको म्याद थप भई अनुसन्धान भइरहेको डिएसपी घलेले जानकारी दिनुभयो । पक्राउ परेका सुनारले प्रारम्भिक बयानमा आफ्नो कसुर स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।
