IMG-LOGO

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित घोषणा

 सोम, असार ३०, २०८२  --

     पनौती÷अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणाभएसँगै पनौतीले प्रमाणपत्र पाएको छ । नगरपालिकाले १२ वटै वडालाई अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित वडा घोषणासँगै बुधबार नगरपालिकालाई नै अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणा गरेको हो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीलाई अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । प्रमाणपत्र हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति प्रमुख गौतमले आधारभुत शिक्षामा सबैको पहुँचको हक अधिकार संविधानमा स्पष्ट व्यवस्था गरेको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

     पनौती नगर प्रमुख भण्डारीले जीवनोपयोगी, व्यवहारीक शिक्षाको पहुँच, गुणस्तर, समानता र समावेशीतामा आधारित सामाजिक रुपान्तरणतर्फ अगाडी बढ्न नगरपालिकाले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको बताउनुभयो । उप–प्रमुख गिता बञ्जाराले शिक्षा बिना विकास र समृद्धि असम्भव रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले नगरपालिकाले शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सबै बालबालिकालाई विद्यालयमा पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा निर्देशक प्रणराज न्यौपानेलेले प्रतिवेदन प्रस्तुत गर्दै ७६७७ बालबालिकामध्ये ४५ जना मात्र विद्यार्थी वाहीर रहेको र भर्ना गर्न थालिएको बताउनुभयो । एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । पनौती नगरबाट ८३३ जना सहभागी भएकामा ८०७ जना उत्तीर्ण भएका छन् । पनौती जिल्लाका १३ स्थानीय तह मध्ये एसईईमा सबैभन्दा धेरै ९६.८८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।

     सामुदायिक विद्यालयतर्फ भालेश्वर माविका प्रनिश बञ्जारा ३.८५ जीपीए सहित नगर टप भए । संस्थागत विद्यालय तर्फ न्यू राइजिङ, बोर्डिङ स्कुलका अनुराग सापकोटा, अरुणोदय माविका सहर्ष नगरकोटी, सिद्धार्थ वनस्थलीका जेनिश बासीले बराबर ३.९६ जीपीए प्राप्त गरेका छन् । छात्रा तर्फ भालेश्वर माविकी रचना बजगाई र अरुणोदयकी कुसुम तिमल्सिना नगर प्रथम भएका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख रिमबहादुर तामाङ, सुरेश हुमागाई पुर्व नगरप्रमुखहरु, विभिन्न पालिकाका शिक्षा शाखा प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, बालमैत्री सहजकर्ताहरु, शिक्षक, विद्यार्थी लगायत सरोकारवालको सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन शिक्षा शाखाका महेश्वर जंगमले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्