IMG-LOGO

बीमितको उपचार प्रथम सेवा विन्दु प्रेषण पूर्जीबाट मात्र हुने

 सोम, असार ३०, २०८२  --

     सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सरकारी स्वास्थ्य संस्थाबाट मात्रै प्रथम सेवा विन्दुको सेवा लिन पाउने व्यवस्था गरेपछि धुलिखेल अस्पताललाई प्रथम सेवा विन्दु तोकेका २ लाख बढी सेवाग्राहीको उपचार प्रभावित हुने भएको छ । मध्यपहाडी जिल्लालाई स्वास्थ्य सेवा दिँदै आएको धुलिखेल अस्पतालमा सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लाका २ लाख ५३ हजार ६ सय ८८ बिमितले समेत धुलिखेल अस्पताललाई प्रथम सेवाविन्दु छनोट गरेका छन् ।

     सामुदायिक अस्पताल धुलिखेल अस्पतालको प्रथम सेवा विन्दुबाटै विशेषज्ञ र अत्याधुनिक परीक्षण लगायतका उपचार सेवा लिँदै आएका सेवाग्राहीले अब ती सेवा लिनको लागि रिफरल (प्रेषण पत्र) लिनुपर्नेछ । प्रथम सेवा विन्दु तोकिएका सरकारी स्वास्थ्य संस्थामा उपलव्ध नहुने विशेषज्ञ सेवा लिन मात्रै सेवाग्राहीले धुलिखेल जस्ता रेफरल अस्पताल जानुपर्ने छ । १० असारमा स्वास्थ्य बीमा बोर्डले निर्देशन जारी गरेर १ साउनदेखि प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने तथा धुलिखेल अस्पतालजस्ता सामुदायिक अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार गराउन आउने सम्पूर्ण विरामीहरुले प्रथम सेवा विन्दुबाट आकस्मिक अवस्थामा बाहेक प्रेषण पुर्जी (रेफलर पत्र) अनिवार्य लिएरमात्र आउनुपर्ने निर्णय गरेको थियो । स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधन तथा नियमावली, २०७५ को प्रथम संशोधनले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र सीमित रहने स्पष्ट व्यवस्था गरेपनि पूर्ण रूपमा लागू भएको थिएन ।

कडा रोगी ७० कटेका लागि एक पटक लिए हुने

     अस्पताल निर्देशक डा. बलराम मल्लले साउन १ गतेदेखि नयाँ व्यवस्था बमोजीम सेवा लिन आउनेलाई प्रेषण पुर्जी (रेफरल पुर्जी) लिएर आउन अनुरोध गरे । सबै प्रकारका क्यान्सर रोगी, मृगौला प्रत्यारोपणको लागि प्रेषण भई प्रत्यारोपण गरेका बिरामीहरुको हकमा प्रत्यारोपण गरेको संस्थामा फलोअप गर्नुपरेमा वा डायलाइसिस गर्ने बिरामीको हकमा, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, अल्जाइमर, पार्किन्सोनिजमका रोगी, मुटु रोगको उपचार तथा फलोअपका लागि, ७० बर्ष पुरा भएको जेष्ठ नागरिक, अति अपाङ्ग, एचआइभी, एमडिआर टिबी, जोखिमपूर्ण सुत्केरी वा शल्यक्रिया गराउनुपर्ने जटिल अवस्थामा मात्र प्रेषण भई सुत्केरी भएका महिला तथा नवजात शिशुहरुको लागि सोही अस्पतालमा २८ दिन सम्म उपचार गर्नु परेमा, कडा किसिमको मानसिक रोगीको हकमा भने एक पटक लिएको प्रेषण पुर्जी सोहि स्वास्थ्य समस्या तथा नेपाल सरकारले तोकेको कडा÷दिर्घ रोगको लागि मात्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । बीमा सेवा शुरु गरेको ६ बर्षको अवधीमा धुलिखेल अस्पतालले १० लाख ६४ हजार ५ सय ९४ जनालाई सेवा दिइसकेको अस्पतालका निर्देशक डा. मल्लले बताउनुभयो ।

     उहाँका अनुसार ९ लाख ६७ हजार ८ सय ३ जनाले बहिरंग (ओपीडि) विभाग, ४२ हजार ९ सय ३१ जनाले अन्तरंग (इनपेसेन्ट) विभाग र ५३ हजार ८ सय ६० जनाले आकस्मिक विभागबाट सेवा लिएको जानकारी दिए । चालू आव अर्थात्  गत साउन देखि असारसम्मको मात्रै स्वास्थ्य बीमाबापत बिरामीको उपचार गरेको धुलिखेल अस्पतालको ६९ करोड भुक्तानी बाँकी रहेको धुलिखेल अस्पताल प्रा.डा. सुमनराज ताम्राकारले जानकारी दिए । स्वास्थ्य बीमा लागू भएका अन्य स्वास्थ्य संस्था भन्दा गुणस्तरीय सेवा भएको कारण विरामीको रोजाइमा धुलिखेल अस्पताल पर्दै आएको छ । धुलिखेल अस्पतालका अलावा काभ्रेका लागि मेथिनकोट अस्पतालका साथै खोपासी, सुन्थान, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा विन्दु तोकिएको भएपनि पहिलो रोजाईमा धुलिखेल अस्पताल पर्दै आएको थियो । स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यलय काभ्रेका प्रमुख मुना निरौलाले काभ्रेमा १ लाख ९८ हजार ६ सय ६१ जनाले स्वास्थ्य बीमागरेको उल्येख गर्नुभयो ।

     ५ जनासम्मको परिवारको लागि ३५ सय तिरेर बीमा गरेपछि एकबर्ष सम्म १ लाख बराबर स्वास्थ्य सेवा उपलव्ध हुँदै आएको छ । तोकिएको मूल्य सीमाभित्र रहेर एक्स–रे, ईसीजी, अल्ट्रासाउन्ड, एमआरआई, सिटीस्क्यान, रगत परीक्षण, तथा साना–ठुला शल्यक्रियाजस्ता सेवाहरू प्राप्त गर्दै आएका थिए । बीमा कार्यक्रमले चस्मा, श्रवणयन्त्र, सेतो छडी र वैशाखीजस्ता सहायक सामग्रीहरू पनि उपलब्ध गराउँछ । बोर्डले तोकेको सूचीभित्रका औषधिहरू बिमितले निःशुल्क पाउँदै आएका छन् । तर, गम्भीर चोटपटकबाहेक ओठ, तालु काटिएको सर्जरीबाहेक अन्य प्लास्टिक तथा कस्मेटिक सर्जरीहरू भने उक्त बीमाले समेट्दैन । सबै सरकारी संस्थाका प्रथम सेवा विन्दुबाट सेवा लिन मिल्ने लगायतका केही सहज व्यवस्था गरिएको छ । अब देशको कुनै पनि स्थानमा रहेको बीमामा आबद्ध सरकारी स्वास्थ्य संस्थाबाट प्रथम सेवा लिन सकिने गरी नियमावली संशोधन गरिएको छ । उपचारका लागि आफ्नो बीमा दर्ता भएकै अस्पताल पुग्नुपर्ने पुरानो बाध्यता अब हट्नेछ । अब बिमितले आफू बसेकै स्थानबाट नजिकैको आबद्ध सरकारी स्वास्थ्य संस्थामा प्रथम सेवा विन्दुको सुविधा लिन सक्नेछन् । संशोधन नियममा स्वास्थ्य बीमा गराएको एक महिना पूरा भएपछि नै सेवा लिन सकिने अर्को व्यवस्था पनि थपिएको छ । यसअघि भने बीमा गराएको गराएको तीन महिनासम्म कुर्नुपर्ने व्यवस्था थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्