भुम्लु ÷ भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा बोर्ड परिक्षा (एस.ई.ई) २०८१ मा उत्कृष्ट अंक ल्याउने २ जना विद्यार्थीलाई जनही १÷१ लाख रुपैयाँले पुरस्कृत सहित सम्मान गरेको छ । भुम्लु गाउँपालिका भित्रका विद्यालयहहरुबाट सबैभन्दा उत्कृष्ट अंक ल्याउने १÷१ जना छात्रा र छात्रलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो । छात्रातर्फ वडा नं १, सापिङको रिठ्ठेस्थित सेतीदेवी माध्यमिक विद्यालयका प्रशन गिरीले ३ दशमलव ७४ सिजिपिए प्राप्त गरी उत्कृष्ट भएका थिए । अरुणोदय माध्यमिक विद्यालय, भुम्लु गाउँपालिका वडा नं २, सिमथलीका मनिता खड्काले ३ दशमलव ४४ सिजिपिए ल्याएर छात्रातर्फ उत्कृष्ट भएकी थिइन् ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा), जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका सदस्य कमलराज गिरी, सामाजिक विकास समितिका संयोजक रहेका वडा नं ५ का अध्यक्ष अञ्चल मोक्तान, प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्री लगायतले विद्यालय र विद्यार्थीलाई सम्मान गरेका थिए । धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल ३ विद्यालयलाई पनि नगद जनही २५ हजारसहित सम्मान गरिएको छ । वडा नं ६ को जनता माध्यमिक विद्यालय, वडा नं १ को सेतीदेवी माध्यमिक विद्यालय र वडा नं ७ को शारदा माध्यमिक विद्यालयलाई पुरस्कृत गरिएको हो ।
भुम्लु गाउँपालिकाले विगत २ बर्षदेखि एस.ई.ई मा उत्कृष्ट नतिजा ल्याउनेलाई नगदसहित सम्मान गर्दै आएको छ । कार्यक्रममा गाउँपालिकाको प्रतिनिधित्व गर्दै योगको जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा पुरस्कृत हुने वनदेवी माविका विद्यार्थी सजन जि.सी र राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगितामा ३ स्वर्ण र एक रजत पदक जित्न सफल विनिशा भण्डारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिका शिक्षक, अभिभावक र गाउँपालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
