पनौती नगरपालिका वडा नं. ५ स्थित सुब्बागाउँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास कार्यालयको संयुक्त आयोजनामा “व्यावसायिक तरकारी खेती कार्यक्रम” अन्तर्गत यान्त्रीकरण हस्तान्तरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । ढलमलेस्थित सहकारीको कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा पनौती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विनोद खत्रीको आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि कृषि विकास कार्यालय काभ्रेका कार्यालय प्रमुख श्री कुल प्रसाद दवाडी रहनुभएको थियो। यस्तै, पनौती नगरपालिका कृषि शाखाका प्रतिनिधिहरु, सहकारीका पूर्व अध्यक्ष, वर्तमान कार्यसमिति सदस्यहरू, स्थानीय कृषकहरू तथा सञ्चारकर्मीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष विनोद खत्रीले सम्बोधन गर्दै कृषि यान्त्रीकरणबाट कृषकको जीवनस्तरमा ठुलो परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । “आजको समयमा परम्परागत कृषि प्रणालीले मात्र हामीलाई आत्मनिर्भर बनाउँदैन, त्यसैले आधुनिक उपकरणको प्रयोग अनिवार्य छ,” उहाँले भन्नुभयो। साथै, उहाँले सहकारीले किसानहरूलाई मार्गदर्शन र आवश्यक स्रोत–साधन उपलब्ध गराउँदै आएकोप्रति सराहना प्रकट गर्नुभयो ।
विशिष्ट अतिथि कुल प्रसाद दवाडीले कृषि यान्त्रीकरण कार्यक्रम सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उपकरणहरूको सही सदुपयोग र संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। “उपकरणमात्रै पुग्दैन, त्यसको दक्ष प्रयोग र अनुगमन पनि अत्यावश्यक छ,” उहाँले भन्नुभयो । उहाँले सहकारीसँगको सहकार्य भविष्यमा पनि निरन्तर रहने आश्वासन दिनुभयो ।
कार्यक्रमको दोस्रो चरणमा सार्वजनिक सुनुवाइ सत्र सञ्चालन गरिएको थियो जहाँ किसानहरूले आफ्ना सुझाव, गुनासा तथा आवश्यकताहरू राख्न पाएका थिए । सहकारी सो प्रश्नहरूको जवाफ दिँदै भावी योजनाबारे समेत जानकारी गराएका थिए । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रामचन्द्र न्यौपानेले गर्नुभएको थियो ।
