शुक्रबार मधुसरको आमा महाप्रस्थान गर्नुभएको शोक र समवेदनासहित हिरामणी शर्माले पोष्ट गरेको फेसबुक स्टाटस पढेपछि म पनि उहाँहरुसंगै सवयात्रामा सामेल भए । पशुपति पुग्दा बागमतीको प्रदुषण उस्तै रहेछ । केही फरक छैन मैले जानेदेखिको पशुपति । धेरै वर्षपछि भेट हुनुभएका अग्रज बृद्ध देखिनु र आफू सरहका साथीहरूका कपाल सेतै हुँदा वर्षौ संगत गरेका साथीहरू पनि बिरानो लाग्दा रहेछन् । म भिडमा बस्न नसक्ने भएछु । एक्लै बागमतीको किनारमा घन्टौं बसेर लासलाई ठोसी रहेको चिता हेर्ने म, त्यो पनि हेर्न नसकेर भाग्ने भएछु अर्थात म धेरैमा आफ्नै समाजमा एकल भएछु । ओहो पत्तै नपाइ के, के भएछु, भएछु ।
सवायात्रामा नयाँपुस्ता नै त्यति देखिन अर्थात ज्युदाको जन्ती मर्दाको मलामी भन्ने हाम्रा परम्परा र सस्कार हाम्रो पुस्तासम्मले मात्रै थाम्ने हो र ? देश त युवा बिहिन भएछ त । पशुपतिपछि काम विशेषले सार्वजनिक सवारी मार्फत सुन्धारा हुँदै दरवारमार्ग पुगे । काठमाडौका सडक अलि फराकिला भएछन् तर सवारी साधनका प्रयोगकर्ताको आनीबानी उस्तै छ । जेब्रा क्रसबाट बाटो काट्दा डर पनि लाग्ने रहेछ । नदि करिडोरमा पनि सडक बनेछन् तर त्यत्रो महानगरमा उति भिड भने छैन ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्य साथै माननिय कमला पन्तको परिवारमा परेको शोकमा धेरै काङ्ग्रेसजन र समाजका अग्रज मलामी हुनुहुन्थ्यो । तर युवा काङ्ग्रेस र नयाँ पुस्ता मलामी नदेख्दा मन झसङ्ग भो । देशका अग्रज अर्थात हाम्रो पुस्ता सम्मको मात्रै नेपाल हो र ? भोलि जन्ती मलामी नै नपाउने यो स्थितिको जिम्मेवारी कस्ले बोक्ने ? कस्ले यो बारे सोच्ने होला ? हाम्रा परम्पराहरु कसरी परिमार्जन गर्ने होला ? मनमा अनेक प्रश्न आए तर उत्तरको कल्पनाले मन निराश भो सवयात्रामा गएर होला बैराग नै उत्पन्न भो । केही सोच्न नपरोस् भनेर बनेपा घरमा आएर सुतेको भुसुक्कै निदाएछु ।
ज्या ! सामाजिक संजालमा शोक व्यक्त गर्न नै ढिलो भएछु । अचेल होड छ सामाजिक संजालमा को अगाडि पोष्ट गर्ने । कस्का कति लाइक कमेन्ट । झन जन्मदिनको शुभकामना दिने लिने सट्टापट्टा छ फेसबुकमा । पत्रकारिताको विद्यार्थी भएकोले होला यस्ता कुराले मलाई छुदंैन । जीवनको अन्त्य नै मृत्यु हो । हामी सबै मृत्यु बोकेर हिडिरहेका छौं । मान्छे समवेदनशील प्राणी हो र पो स्तब्ध हुन्छ । म आमा बिरामी भएर दौडिदै आफ्नै समाजमा फर्किएको बेला मधुसरको आमाको महाप्रस्थानमा अलबिदा गर्न पो पुगेछु । त्यही त मान्छेलाई नसोचियाका घटनामा सामेल हुनुपर्छ । शोकाकुल परिवारमा गहिरो समवेदना । आमाको अब सम्झना मात्र । भावपूर्ण हार्दिक श्रद्धाञ्जली ।
