अमेरिकाको विदेश मन्त्रालयले भनेको छ उसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका निम्ति भिसाको ‘अपोइन्टमेन्ट’ दिने कार्य फेरि सुरु गर्दैछ । गत महिना ट्रम्प प्रशासनले त्यस्ता सबै ’अपोइन्टमेन्ट’ स्थगन गरेको थियो । उसले अमेरिकासँग वैरभाव राख्ने आवेदकहरूलाई रोक्ने उद्देश्यका साथ उक्त निर्णय लिएको बताएको थियो । के छ नयाँ शर्त ? विद्यार्थी भिसा फेरि सुरु गर्ने बताएको अमेरिकी विदेश मन्त्रालयले त्यसका निम्ति केही शर्त पनि राखेको छ । उसले सबै आवेदकहरूलाई तिनका सामाजिक सञ्जालको सुदृढ अनुगमनका निम्ति तिनलाई खुला (पब्लिक) गर्न भनेको छ । मे २७ मा ट्रम्प प्रशासनले विदेशस्थित उसका राजदूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताका निम्ति समय दिने कार्य रोक्न आदेश दिएको थियो । त्यतिखेर पनि उसले भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थालेको जानकारी दिएको थियो । कूटनीतिक निकायहरूलाई जारी गरिएको सूचनामा विदेशमन्त्री मार्को रुबियोले ’थप निर्देशन नआएसम्मका लागि’ ती कार्य स्थगन हुने भनेका थिए । रुबियोले उनको सन्देशमा विद्यार्थी तथा फरेन एक्सचेन्जअन्तर्गतका भिसा आवेदकहरूको सामाजिक सञ्जालको निगरानी वा परीक्षण गहन बनाइने बताएका थिए ।
ट्रम्पको उद्देश्य के हो ?
विद्यार्थी भिसाको विषयलाई राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी विश्वविद्यालयहरूविरुद्ध चालेका कारबाहीको एउटा पाटोको रूपमा हेरिएको थियो । ट्रम्पका अनुसार कतिपय अमेरिकी विश्वविद्यालयहरू यहुदी विरोधी भावनासँग जुझ्न विफल रहे – खासगरी प्यालेस्टीनीको समर्थनमा हालै त्यहाँ भएका प्रदर्शनहरूका समयमा । उनले हार्वर्डसहित प्रतिष्ठित विश्वविद्यालयहरूलाई दिइने दशौँ करोड डलर बराबरका सरकारी कोष पनि रोक्का गरिदिएका छन् । कतिपय विद्यार्थीलाई अमेरिकाबाट निकाला गरिएको छ भने हजारौँ अन्यको भिसा रद्द गरिएको छ । यीमध्ये कतिपय कारबाहीलाई अदालतहरूले रोकिदिएका छन् ।
कलेजहरूले चाहिँ ट्रम्प प्रशासनले वाक् स्वतन्त्रता कुल्चन खोजेको आरोप लगाएका छन् । सन् २०२३–२४ को शैक्षिक वर्षमा २१० देशका ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकी कलेजहरूमा भर्ना भएको विदेशी विद्यार्थीसम्बन्धी आँकडा सङ्कलन गर्ने सङ्गठन ओपन डोअर्सले जनाएको छ । गत वर्ष सबभन्दा धेरै भारतबाट आएका थिए । ओपन डोअर्सका अनुसार गत वर्ष ३३०,००० भारतीय विद्यार्थी अमेरिका पढ्न आएका थिए ।दोस्रो स्थानमा करिब २८०,००० विद्यार्थीसहित चीन रहेको छ । त्यसपछि धेरै सङ्ख्यामा अमेरिकामा पढ्न जानेहरूमा दक्षिण कोरिया, क्यानडा, ताइवान, भिएतनाम, नाइजिरिया, बाङ्ग्लादेश, ब्रजिल र नेपालका रहेका छन् ।
