सामुदायिक रेडियो प्रसारक संघ नेपाल बागमती प्रदेश समितिले प्रदेशमा रहेका सामुदायिक रेडियो प्रसारकहरुलाई दुईदिने क्षमता अभिवृद्धि तालिम गत मंगलबार सम्पन्न गरेको छ । प्रमुख अतिथि सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवटी सापकोटाले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको कार्यक्रममा एकोरावका अध्यक्ष अर्जुन गिरी, पूर्व अध्यक्ष सुभाष खतिवडा, अमार्कका निर्देशक सुमन बस्नेत, आदिवासी पत्रकार महासंघका अध्यक्ष लक्की चौधरी, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, समाजवादी प्रेस संगठनका उपमहासचिव लेखनाथ सिकारु, एकोराव बागमती प्रदेशका पूर्व अध्यक्ष कृष्णहरी घिमिरे, अध्यक्ष दिपक लामा, उपाध्यक्ष दिलमाया खड्का, सचिव आशिष ठकुरीले सामुदायिक रेडियोको अवस्था, चुनौती र अवसरहरु बारे आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । रेडियो विपद्मा अत्यन्त महत्वपूर्ण सञ्चार माध्यम भएको सबैले महसुस गरेपनि रेडियोमैत्री वातावरण बन्न नसकेकोप्रति समीक्षा गरिएको थियो । रेडियोको संस्थागत विकासका लागि राज्यले समस्या र गुनासाहरुको सुनुवाई गनुृपर्नेमा जोड दिदै रेडियोका उत्पादनहरुलाई थप समुदायमुखी बनाउन तथा सामाजिक सञ्जाल एवं अन्य बैकल्पिक माध्यमहरु मार्फत पनि सूचना, समाचार, अन्तर्वार्ता प्रस्तुत गर्न प्रविधि मैत्री हुनुपर्ने भन्दै एआई प्रविधि बारे समेत प्रशिक्षण दिईएको थियो । प्रशिक्षणमा वरिष्ठ रेडियोकर्मी रघु मैनालीले रेडियोको व्यवस्थापनका चुनौती, अवसर र अवको बाटो, आर्थिक संकटबाट कसरी जोगाउने भन्ने विषयमा प्रशिक्षण दिनुभयो भने अमार्कका निर्देशक सुमन बस्नेतले सामुदायिक रेडियोको अहिलेको संकट समाधानका लागि अन्तर्राष्ट्रिय सिकाइ बारे प्रशिक्षण दिनुभएको थियो । सामुदायिक सूचना नेटवर्कका प्रमुख दिपक आचार्य, प्रशिक्षक समिर बलामी, पवन तिमल्सिना, रत्न श्रेष्ठ, सुरेश श्रेष्ठ, भक्त स्याङताङ लगायतले सामुदायिक रेडियोको दिगो विकासको विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
