पनौती नगरपालिका वडा नम्बर ४ अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित वडा घोषित भएको छ । प्रक्रियागत रुपमा गरिएको घरदैलो अभियान र अभिभावक सचेतना मार्फत बालबालिका विद्यालय बाहिर नरहेको एकिन गरेसँगै वडालाई अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित वडा घोषणा गरिएको हो । अभियान अन्तर्गत १ हजार ४ सय ६२ घरधुरीमा पुगेर तथ्यांक संकलन गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले विकास भन्नाले भौतिक पूर्वाधार बनाउनुमात्रै नभई शिक्षा, स्वास्थ्यको गुणस्तर वृद्धि, पर्यटन क्षेत्रको व्यवसायिक विकास भएको उल्येख गर्नुभयो । बालबालिकाको क्षमता विकासका लागि अधिकतम काम गरिहेको नगर प्रमुख भण्डारीले उल्येख गर्नुभयो । बालमैत्री, बालश्रममुक्त नगर हुँदै आधारभुत शिक्षा सुनिश्चित नगर घोषणाको तयारीमा रहेको उनले बताए । उप–प्रमुख गिता बञ्जार पनौती नगरपालिकाका शिक्षा निर्देशक प्रणराज न्यौपाने, वडा अध्यक्ष दिपक दाहाल लगायतले शैक्षिक विकासको बारेमा बोल्नुभएको थियो ।
घोषणा सभामा वडा शिक्षा समितिका सदस्य सचिव अच्युतम बञ्जाराले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वडा नम्बर ४ मा ६ हजार ७ सय ११ जनसंख्या रहेकोमा १८ वर्ष मुनीका बालबालिकाको संख्या १ हजार ३ सय ७० रहेको छ । कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष भीमप्रसाद आचार्य, वडा नम्बर ४ का वडा सदस्य कुमार बस्नेत, सविता थापा, प्रकाश बञ्जारा, पनौती नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगम, बालमैत्री शाखा प्रमुख केशव बञ्जारा, महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मि पोखरेल, वडा सचिव कृष्णकाजी श्रेष्ठ, नायव सुब्बा भीमप्रसाद दाहाल, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विद्यार्थी लगायत सरोकारवालाको सहभागीता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य राधिका विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन बालमेत्री सहजकर्ता ललिता धितालले गर्नुभएको थियो ।
