IMG-LOGO

खानीखोला गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा

 मंगल, जेठ २८, २०८२  --

 

     खानीखोला, काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गर्दै स्वास्थ्य सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हात पारेको छ । गाउँपालिकाको सभा हलमा सम्पन्न विशेष कार्यक्रममा खानीखोलालाई औपचारिक रूपमा “पूर्ण खोप सुनिश्चित” घोषणा गरियो । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा खोप समन्वय इकाईको पहलमा यो घोषणासँगै स्थानीय स्वास्थ्य सेवा प्रवाहमा एक महत्वपूर्ण उपलब्धि थपिएको हो ।

     “खोपको उपयोग, स्वामित्व र सहभागिता — हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ सञ्चालित कार्यक्रममार्फत समुदायमा खोपप्रति सचेतना अभिवृद्धि हुनुका साथै स्वास्थ्य पहुँच अझ सुदृढ भएको छ । उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवनराज अर्याल, लेखा प्रमुख प्रकाश कोइराला, चार नम्बर वडा अध्यक्ष निशान मोक्तान, सातवटै वडाका अध्यक्षहरू, वडागत स्वास्थ्य शाखा प्रमुखहरू, स्वास्थ्यकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष थिङले भन्नुभयो, “खोप कार्यक्रममा स्थानीय तहको नेतृत्व, समुदायको सक्रिय सहभागिता र स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासले आज हामी पूर्ण खोप सुनिश्चित बन्न सफल भएका हौं ।”

     उहाँले खोप पहुँचबाट वञ्चित कोही पनि नागरिक नरहोस् भन्ने उद्देश्यले अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम पुकार यादवका अनुसार खानीखोला गाउँपालिकामा लक्ष्य समूहका सबै बालबालिकाहरूलाई निर्धारित तालिका अनुसार खोप उपलब्ध गराइएको छ, जसले संक्रामक रोगविरुद्धको सुरक्षा कवच प्रदान गर्छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्