आन्तरिक राजश्व कार्यालय धुलिखेल तथा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा काभ्रेपलाञ्चोकको आयोजना र शैक्षिक सशक्तिकरण केन्द्र नेपालको सहयोगमा धुलिखेलमा कर परिपालना विषयक एक दिने अन्तक्र्रिया कार्यक्रम शुक्रबार होटल सनराइजमा सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यता तथा गैसस महासंघ काभ्रेकी प्रमुख गंगा दोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आन्तरिक कर कार्यालय धुलिखेलका कर अधिकृत रमेश ढकालले कर सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि उठेका प्रश्नहरुको आन्तरिक कर कार्यालय धुलिखेलका प्रमुख रमेश भट्टराईले जवाफ दिनुभएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै कर अधिकृत ढकालले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र कर अनिवार्यरुपमा बुझाउनु पर्ने अन्यथा जरिवाना लाग्ने जानकारी दिनुभयो । उहाँले कर चुक्ता गर्नुपर्ने अवस्था र कर छल्दा आउनसक्ने समस्याका बारेमा सहभागीहरुलाई जानकारी दिनुभयो । जवाफमा प्रमुख भट्टराईले २५ हजारभन्दा बढीको तलब भुक्तानीलगायतका आर्थिक कारोबारमा बैंकिङ प्रणाली अपनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले व्यक्ति वा संस्था र कम्पनीले समयमै राजश्व बुझाउनुपर्ने कुरा बताउनुभयो । उहाँले प्रशासन कार्यालयमा संस्था दर्ता र कर चुक्ताका विषयमा आवश्यक सहयोग गर्न आफू सधैं तयार रहेको बताउनुभयो । साना र ठूला संस्थालाई एउटै करको दायरामा ल्याउन नहुने बताउँदै उहाँले यस विषयमा आवश्यक नीति नियम संशोधनमा जिम्मेवार निकायले सोच्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै गैसस महासंघ काभ्रेका प्रमुख गंगा दोङले करको विषयमा प्रष्ट होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो । कार्यक्रममा विभिन्न गैर संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
