स्वस्थ शहर धुलिखेल नगर अभियानलाई सशक्त बनाउँदै आएको धुलिखेल नगरपालिकाले आइतबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा सभा सम्पन्न गरेको छ । धुलिखेल नगरको १२ वटै वडाका बालबालिकाहरुलाई रातप्रतिशत खोप लगाएसँगै पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । त्यस्तै नगरपालिकाका बालबालिकाहरु बाहेक अन्यत्रबाट आइ बसोबास गर्नेहरु सहितलाई गरी १ सय ३४ प्रतिशतलाई खोप लगाईएको धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०८०÷८१ को चैत्र मसान्तसम्मको अवधीमा १६ महिनादेखि २३ महिनासम्मको पाउनुपर्ने खोप ४ सय २८ जना बालबालिकाले लगाएको सुनिश्चित भएपछि खोप सुनिश्चित नगर घोषणा गरिएको हो । १६ महिना सम्म पाउनुपर्ने खोप सो अवधीमा नपाएको भए २३ महिनासम्ममा पुरा गरिन्छ ।
आइतबार नगरपालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम, जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी, वडा अध्यक्ष, स्वास्थ्य संस्थाका प्रतिनिधीहरुको सहभागीतामा नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको हो । विभिन्न मितिमा यस अघि नगरपालिकाका १२ वटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सन्दिप के.सी.का अनुुसार, सबै स्वास्थ्य संस्थाबाट सो उमेर समुहका खोप पाएको प्रमाणित भएपछि घोषणा गरिएको हो । उनका अनुसार, घोषणापूर्व ती स्वास्थ्य संस्थामार्फत घरधुरी सर्वेक्षण समेत गरिएका थिए । चैत्र महिनालाई खोप महिनाको रुपमा विभिन्न अभियान सञ्चालन गरिन्छ । घरधुरी सर्वेक्षण सहित खोप पाउन कोही छुटे नछुटेको यकिन गरी सो बर्षलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिन्छ । कार्यक्रममा सहभागी सबैले आगामी आर्थिक बर्षमा पनि सबै बालबालिकालाई पूर्णखोप सुनिश्चित गर्न प्रतिवद्धता जनाएका थिए ।
स्वस्थ शहर धुलिखेल नगर अभियान अन्तरगत १५ वटा स्वास्थ्य केन्द्र र २ वटा अस्पतालबाट जनताको पहुँचमा स्वास्थ्य सेवा प्रवाह, ६९ जना स्वयं सेवीकाहरुको परिचालनबाट समुदायमा सहभागीता, स्वास्थ्य स्वयं सेवक समुह निर्माण, अनुशन्धानमा आधारित रहि स्वास्थ्य सेवा प्रदान, क्षयरोग मुक्त नगर अभियान, स्वास्थ्यकर्मीद्वारा घरदैलो, स्वास्थ्य सेवा, १ वर्ष भित्रमा ४७ वटा स्वास्थ्य शिविर सञ्चालन, धुलिखेल अस्पतालको समन्यवयमा स्वास्थ्य सेवा, वडाको सहयोगमा पोषण तथा मातृ स्वास्थ्य सेवा, १ साय ३४ प्रतिशत खोप सेवा, विद्यालय स्वास्थ्य सेवा, माध्यमिक विद्यालय नर्सिङ्ग स्वास्थ्य सेवा जस्ता आधार स्तम्भ, मापदण्ड पुरा गरेकोले २०८१ भाद्र ११ गते विश्व स्वास्थ्य संगठनद्वारा नेपालको पहिलो एसियाको देश्रो स्तरको स्वस्थ शहर घोषणा, नेश्नल हेश्थ मिडिया दपर्ण अवार्डद्वारा धुलिखेल नगरपालिका पुरस्कृत भइ सम्मानित भएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले उल्येख गर्नुभयो ।
