धुलिखेल÷धुलिखेल नगरपालिका कृषि शाखाले धुलिखेलका १२ वटै वडाका कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा मिनिटिलर र स्पे्रयर उपलब्ध गराएको छ । पहिलो चरणमा वडा नम्वर ४, ५, ९ र १२ नम्वर वडाका कृषकहरुले वडाको सिफारिसका आधारमा यान्त्रिकरण मार्फत प्रविधि सहितका सामाग्री प्राप्त गर्न सकेका छन् ।
मिनिटिलर १ सय १३ जना कृषकहरुका लागि उपलब्ध गराईनेछ भने स्प्रेयर १ सय २१ जना कृषकले प्राप्त गर्नेछन् । वितरण गरिएका बाहेकका अन्य वडाहरुका लागि अर्काे चरणमा वितरण गरिने कृषि शाखाले जनाएको छ । धुलिखेल नगरपालिकाले कार्यालयले गरेको सिफारिसका आधारमा कृषि सामाग्री उपलब्ध गराईएको कृषि शाखा प्रमुख रविना घिमिरेले बताउनुभयो ।
कृषि क्षेत्रमा प्रविधिको विकासलाई उत्पादनसँग जोडी उत्पादन बृद्धी गरी आयआर्जन बढाउने ध्ययका साथ प्रत्येक वर्ष सामाग्री उपलब्ध गराउँदै आएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । कृषि र पशुपालनमा कृषक मैत्री कार्यक्रम मार्फत नागरिकहरुको आर्थिक उपार्जनमा सुधार ल्याउन कृषि औजार र उपकरण समाग्री उपलब्ध गराईएको नगर प्रमुख ब्याञ्जुले बताउनुभयो ।
प्रविधि हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, वडा अध्यक्षहरु उत्तमप्रसाद तिमल्सिना, प्रमोदसुन्दर श्रेष्ठ, मोहनप्रसाद लामिछाने, कार्यपालिका सदस्यहरु, कृषकहरुको सहभागिता रहेको थियो । कृषि शाखा मार्फत नगरपालिकाले मौरीको ब्यवसायीक पालनका लागि ४५ वटा घार गोला वितरण गरिएको थियो । उक्त कार्यक्रमका लागि वडा नम्वर ११ लागि पकेट क्षेत्र बनाउने तयारी गरिएको छ ।
