नेपाल प्रेस युनियन बागमती प्रदेश समितिले पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका एवं संस्थागत क्षमता अभिवृद्धि तालिम तथा सम्मान कार्यक्रम शनिबार धुलिखेलमा सम्पन्न गरेको छ । ३४ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको २ दिने तालिमको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले आर्टिफिसियल इन्टिलिजेन्स (एआइ) का कारण पत्रकारिता क्षेत्रलाई चुनौती र जोखिम देखिएको भन्दै जुनसुकै पेशा, व्यवसायमा संकट आउँदा पनि संकट नआउने गरी पत्रकारहरुले क्षमता अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आगामी आर्थिक बर्षको बजेट पत्रकारिता र प्रेस भन्ने शव्द नपरेको भन्दै पत्रकारहरु आन्दोलित हुनुपर्ने अवस्था बन्न सक्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले आफूलाई परिमार्जन गर्दै गए पत्रकारिता कहिले पनि संकटमा नपर्ने जिकिर गर्नुभयो । प्रेस युनियन बागमती प्रदेश कार्यसमितिले गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, महासचिव रामप्रसाद दाहाल, डा. भूमि चापागाई, उमेश श्रेष्ठ, नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल लगायतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बागमती प्रदेशका १० जिल्लाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, बागमती प्रदेश समिति र युनियनको प्रतिनिधित्व गरेका पत्रकार महासंघका जिल्ला अध्यक्षहरुको सहभागिता रहेकोे थियो । नेपाल प्रेस युनियनका तर्फबाट नेपाल पत्रकार महासंघमा निर्वाचित प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षहरुलाइ सम्मान समेत गरिएको कार्यक्रम प्रेस युनियन बागमती प्रदेशका अध्यक्ष युबराज पुरिको सभापतित्वमा सम्पन्न भएको थियो ।
