पनौती नगरपालिकाको १२ वटा वडाका ४० जनालाई विपद् स्वयंसेवक तालिम दिन सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल, गण नं १५ मुख्यालय काभ्रेले पनौती नगरपालिकासँगको सहकार्यमा नगर क्षेत्रभित्रका १२ वडाका ४० जनालाई लक्षित गरी विपद् स्वयंसेवक आधारभूत तालिम हिजोबाट सुरु गरेको छ । हिजोबाट सुरु भएको तीन दिने उक्त तालिममा विपद् पूर्व तयारी, विपद्पछिको उद्धार, राहत तथा समन्वयसम्बन्धी अभ्यास गराइने छ ।
तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गर्नुभयो । कार्यक्रममा पनौती नगरपालिकाकी उपप्रमुख गीता बन्जाराले विगतमा असोज १०–१२ मा आएको बाढी, पहिरो र वैशाख महिनामा परेको अविरल वर्षाले दिएको क्षतिको स्मरण गर्दै त्यस्ता घटनाले जनस्तरमा एउटा पाठ सिकाएको र विपद्जन्य घटना बारे सचेत बन्नुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल, गण नं १५का प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाईँले विपद्पछि उद्धार तथा राहत कार्यमा तालिमप्राप्त स्वयंसेवकहरू विपद्मा सघाउने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी, काभ्रे शाखाको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको हो ।
