मण्डनदेउपुर नगरपालिकालाई यो आर्थिक वर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शुक्रबार नगरप्रमुख एवं नगरस्तरीय खोप समितिका संयोजक टोकबहादुर वाईबाको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिका मध्ये जिल्लामै तेस्रो नम्बरमा पर्न सफल भएको छ । यस कार्यमा सक्रिय भएर खट्नु हुने सबैलाई हार्दिक धन्यवाद दिँदै प्रमुख अतिथि गौतमले यसलाई निरन्तरता दिने गरि काम गर्न सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपतीले मण्डनदेउपुर जिल्लाका नगरपालिकामा दोस्रो र समग्र पालिकामा तेस्रो पूर्णखोप पालिका भएको र यो आर्थिक वर्ष भित्र महिनामा सबै पालिकालाई यस अभियानमा संलग्न गराइने बताउनुभयो । कार्यक्रममा नगरप्रमुख वाइबा, उपप्रमुख विष्णुमणि नेपाललगायत जनप्रतिनिधिहरुले हरेक बालबालिकाको खोप पाउने अधिकारलाई सुनिष्चित हुने गरि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । हाल नगरपालिकामा १५ महिना मुनीका बालबालिका ३५२ जना, पूर्णखोप प्राप्त १६ देखि २३ महिनासम्मका २३६ र २४ देखि ५९ महिनासम्मका १ हजार १०७ जना बालबालिका रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईश्वरी सापकोटा गौतमले बताउनु भयो ।
