अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा शुक्रबार धुलिखेलमा सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा संघको आन्तरिक प्रशासनिक निर्णयदेखि आर्थिक प्रतिवेदन र भावी रणनीतिसम्मका विषयमा छलफल र निर्णयहरू गरिएको थियो । कार्यक्रमका सभापति तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको सभापतित्वमा सम्पन्न सभामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ्ग प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका इमानुयल इङ्ग्लिस स्कुलका विद्यार्थीहरूले राष्ट्रिय गान प्रस्तुत गर्दै स्वागत गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य महासचिव किरण राईले गर्नुभयो । प्रमुख अतिथि घिसिङ्गले खेलकुद क्षेत्रको व्यवसायिक विकासमा राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो । केन्द्र प्रदेश र स्थानीय सरकारले फुटवलखेलको सकारात्मक विकास खेलाडीहरुको वृतिविकास र स्थायित्वको लागि हरेक वर्ष बजेट विनियोजन गरेर खेलकुदको गरिमालाई उच्च राख्नुपर्ने तर्क प्रमुख अतिथि घिसिङले गर्नुभयो । सभामा संघको विधान संशोधन, आर्थिक कार्यविधि पुनरावलोकन, लेखा परीक्षण प्रतिवेदन स्वीकृति, पूर्व बैठकको निर्णय अनुमोदन तथा सदस्यताको नवीकरण जस्ता विषयहरूमा निर्णय गरेको छ ।
साथै, नयाँ आर्थिक वर्षको लागि बजेट स्वीकृति, लेखा परीक्षण समितिको प्रतिवेदन, स्वतन्त्र लेखा परीक्षक नियुक्ति तथा संघका विभिन्न अंग र समितिहरूको निर्वाचन प्रक्रिया पनि छलफलमा पर्न सक्ने व्यवस्था गरिएको थियो । धुलिखेलमा सम्पन्न साधारण सभा नेपाली फुटबलको भावी पथ निर्धारण गर्ने निर्णयहरूसँगै पारदर्शिता र संस्थागत सुदृढीकरणको दृष्टिकोणमा महत्वपूर्ण मानिएको छ । संघको आन्तरिक आर्थिक नियमावली संशोधन, लेखा पारदर्शिता र समितिहरूको स्वतन्त्र निर्वाचनमार्फत एन्फाले विश्व फुटबल मापदण्डअनुसार अघि बढ्न खोजेको कुरा अध्यक्ष नेवाङ्गले बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु लगायतको आतिथ्यता रहेको थियो ।
