IMG-LOGO

ऐतिहासिक तथा सांस्कृतिक महत्वको चण्डेश्वरी जात्रा

 मंगल, बैशाख ३०, २०८२  --

     सांस्कृतिक र धार्मिक महत्वको चण्डेश्वरी जात्राबनेपाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्वको चण्डीपूर्णीमा बुद्ध जयन्तीको दिन आइतबार देखि चण्डेश्वरी जात्रा औपचारिकरुपमा सुरु भएको छ । वरिष्ट साहित्कार मोहन दुवालका अनुसार मल्लराजाको पालादेखि सुरुवात भएको हो । चण्डेश्वरी जात्रा विशेषगरी स्थानीय नेवार समुदायले मनाउने गर्दछन् । बर्सेनि चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाइने जात्राका लागि यहाँका बासिन्दाले बनेपा सहरको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर र परिसर आकर्षक ढङ्गबाट सिगारिएको छ । जात्राको पहिलो दिन आइतबार बिहानदेखि प्रत्येक घरघरबाट मन्दिरमा पूजाआराधाना गरी औपचारिकरुपमा जात्राको सुरु भएको हो भने आइतबारदेखि घरघरमा भोज पनि सुरु गरिएको छ ।

     यस्तै गए राति हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग) सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बलि दिई ‘सरकारी पूजा’ गरिने र मतः पूजा (चिराग यात्रा)गरिने वरिष्ट साहित्यकार दुवालले बताउनु भयो । उनका अनुसार आज बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली रथ (खट) लाई स्थानीय युवाहरुले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्याउने प्रचलन छ । भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ ।

     रथ मन्दिर लैजाने बेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालबाट उनीहरुलाई ‘ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम पनि हुन्छ । खटलाई मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । यस्तै रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसादहरु झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् ।

     जात्रा अवधिभर बुढापाकाले टोलटोलमा बसी बिहान–बेलुका भजन गाउँछन् । सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको भीडभाड हुन्छ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने कुरा बनेपा–८ पूर्व अध्यक्ष दान व. मानन्धरले बताउनु भयो । उनका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजनहरु ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँको जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि रहेको छ ।

     जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । सरकारका तर्फबाटसमेत पूजा गर्ने भएकाले पनि यसको महत्वले अझ व्यापकता पाएकामा बनेपाली गर्व गर्छन् । पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पुर्याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा रहेको वरिष्ट साहित्यकार मोहन दुवाल बताउँनु हुन्छ ।

     रथलाई प्राचीन लायकू दरबारसम्म पु¥याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने प्रचलन छ । यस्तै तेस्रो दिन अपराह्न मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिने गर्छ । धार्मिक कथन एवं किंवदन्ती अनुसार दैत्यराज चण्डासुरलाई भगवतीका रुपमा प्रकट भई चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुसियालीमा आराध्यदेवी चण्डेवरी माईको जात्रा मनाइँदै आइएको बताइन्छ ।

     चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घ–संस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिएका छन् । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको हो । चण्डेश्वरी जात्रा स्थानीय सरकार बनेपा नगरपालिकाको उचित व्यवस्थापन साथ कार्य अघि बढाउँदै आएको नगरप्रमुख शान्तिरत्न शाक्यले बताउनु भयो । मुख्य समन्वय कर्ता किरण काजी श्रेष्ठको नेतृत्वमा विशाल विक्रम कायस्थ, विश्वनाथ भोछिभोया, राजु खत्री, हरि गोपाल मानन्धर, सुजन आलेमगर टोलि प्रमुख रहेका छन् । त्यसैगरी स्वयं सेवकहरु इस्वरमान श्रेष्ठ, कृष्णभाइ श्रेष्ठ, सोकुल डङ्गोल, सुवास रञ्जीत, रामहरी पराजुली, सुवास रंजीत, विष्णुप्रसाद सुवाल, किरणकुमार भालु, श्यामभक्त प्रधान, राजु खाती, कृष्ण सुवाल, सुरेन्द्र कारंजित, विकास खाछीभोया, राजश्री रञ्जीत खटिनुभएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्