“सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण“ भन्ने नाराका साथ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२५ को अवसरमा “म्ष्नष्तब िीष्तभचबअथ ायच ऋथदभच क्भअगचष्तथ” नामक कार्यक्रम २०८२ साल बैशाख १५ गते सोमबारका दिन बनेपा नगरपालिका सभाहलमा भव्य रूपमा सम्पन्न भयो । कार्यक्रमको मूल उद्देश्य स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा क्यान महासंघका सदस्यहरूलाई डिजिटल साक्षरतासँगै साइबर सुरक्षाबारे सचेत गराउनु रहेको थियो । सूचना प्रविधिको तीव्र विकाससँगै साइबर अपराधको जोखिमसमेत बढ्दै गएको वर्तमान सन्दर्भमा यसको न्युनिकरण तथा सुरक्षित डिजिटल प्रयोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको सभापतित्व क्यान महासंघ काभ्रेका अध्यक्ष श्रीमती देबकी आचार्यले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्यको उपस्थिति थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि शान्ति रत्न शाक्यज्यूले ब्यानर पढेर गर्नुभएको थियो । अन्य विशिष्ट अतिथिहरूमा नगर उपप्रमुख बिमला सापकोटा दाहाल, क्यान महासंघ केन्द्रका उपाध्यक्ष तथा क्यान काभ्रेका पूर्व अध्यक्ष शेखरनाथ दुलाल, क्यान बागमती प्रदेश समितिका उपाध्यक्ष तथा क्यान काभ्रेका पूर्व अध्यक्ष बिकाश पन्त, तथा काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष रबिन्द्र बैदार रहनुभएको थियो । साथै बनेपा नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्षहरू, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू तथा सम्पूर्ण शाखा प्रमुखहरूको सक्रिय सहभागीता रहेको थियो ।
कार्यक्रमका स्रोत व्यक्तिहरूमा क्यान महासंघका कार्यसमिति सदस्य बन्दना शर्मा ज्ञवाली तथा इलाका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक कुल बहादुर कुँवर रहनुभएको थियो । ज्ञवालीले साइबर सुरक्षाका आधारभूत सिद्धान्तहरू, सुरक्षित पासवर्ड प्रयोग, डिजिटल उपकरणको सुरक्षा, फिसिङ आक्रमण तथा अनलाइन ठगीबाट बच्ने उपायहरूबारे अत्यन्त सहज र व्यावहारिक तरिकाले प्रशिक्षण दिनुभयो । त्यसैगरी प्रहरी निरीक्षक कुँवरले साइबर अपराधको कानुनी पक्ष, प्रहरीमा उजुरी दिने प्रक्रिया, तथा कानुनी उपचारका उपायहरूबारे सहभागीहरूलाई जानकारी गराउनुभयो । कार्यक्रममा सहभागीहरूसँग अन्तक्र्रिया, प्रश्नोत्तर सत्र तथा अनुभव आदानप्रदान पनि गरिएको थियो, जसले विषयवस्तु अझ स्पष्ट बनाउन मद्दत गर्यो ।
करीब ८० भन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा उनीहरूको सक्रियता र जिज्ञासा अत्यन्त प्रेरणादायक रह्यो । सहभागीहरूले डिजिटल सुरक्षा सम्बन्धी नयाँ जानकारी हासिल गर्नुका साथै व्यवहारमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे । विशिष्ट अतिथि श्री शेखरनाथ दुलालले डिजिटल युगमा जनप्रतिनिधि तथा नीति निर्माता स्वयं साइबर सुरक्षा साक्षर हुनु अनिवार्य भएको र यस्ता तालिमहरू स्थायी संरचनाभित्र ल्याउनु आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रमको सञ्चालन क्यान महासंघ काभ्रेका सचिव केवल प्रसाद तिमल्सिना (राजकुमार) ले गर्नुभएको थियो ।
