हेटौंडा, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशको छैठौं वार्षिक साधारण सभा शनिबार मकवानपुर जिल्ला शाखाको सभाहल, हेटौडामा सम्पन्न भएको छ । उक्त साधारण सभाको अध्यक्षता प्रदेश अध्यक्ष भोलानाथ रुपाखेतीले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्य बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगर रहनु भएको थियो । स्वास्थ्य मन्त्री थापाले रेडक्रस र प्रदेश सरकारबीच स्वास्थ्य क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले आफुले २० वर्षदेखि विभिन्न तहमा रेडक्रसमा काम गर्दै आएको अनुभव उल्लेख गर्दै, आपत–विपत्तिको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने संस्था भनेर जनस्तरमा रेडक्रस स्थापित भएको बताउनुभयो ।
सभामा महासचिव रामजी प्रसाद पौडेलले गत वर्षको प्रगति विवरण र आगामी वर्षको प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भयो भने, कोषाध्यक्ष भरत कुमार बस्नेतले आय–व्यय विवरण र आगामी वर्षको बजेट प्रस्तुत गर्नु भएको थियो । साधारण सभामा गत वर्ष असोज महिनामा बाढीपहिरोबाट प्रभावित जिल्लाहरूमा खोज, उद्धार, राहत तथा पुनर्निर्माण कार्यमा सक्रिय योगदान पु¥याएका काभ्रेपलाञ्चोक जिल्ला शाखा, ललितपुर जिल्ला शाखा, साथै नेरेसो बागमती प्रदेश कार्यालयका लागि जग्गा उपलब्ध गराउने कार्यमा योगदान गरेकोमा मकवानपुर जिल्ला शाखालाई, संगठन विकास तथा सदस्यता वृद्धिमा योगदान पु¥याएकोमा चितवन जिल्ला शाखालाई, रगत नपाय भक्तपुर जानु अभियानको प्रभावकरी कार्यन्वयको लागी भक्तपुर जिल्ला शाखा, रक्त सञ्चार सेवा व्यवस्थापन तथा अक्षय कोष निर्माण अभियानमा उल्लेखनीय कार्य गरेकोमा सिन्धुली र नुवाकोट जिल्ला शाखाहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा मकवानपुर जिल्ला शाखाका सभापति लालबहादुर थापाले स्वागत मन्तव्य दिनु भएको थियो भने, सात सिद्धान्तको वाचन प्रदेश सदस्य खेमराज सापकोटाले गर्नुभएको थियो । साथै, चितवन जिल्ला सभापति हरिप्रसाद पौडेल, सिन्धुली जिल्ला सभापति अशोक श्रेष्ठ, र धादिङ जिल्ला सभापति दुर्लभ कुमार तामाङले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, अतिथिहरू तथा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन उपाध्यक्ष निर्मला थापाले गर्नु भएको थियो । साधारण सभाको बन्द सत्रमा महासचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्वतरुपमा पास गरेको छ ।
