बनेपा\ गत असोज १० देखि १२ सम्मको परेको अविरल वर्षातले बनेपा नगरपालिका भित्र आंशिक तथा पूर्ण क्षति भएका घर परिवारका लागि संघीय सरकारले अस्थायी बसोबासका लागि पहिलो किस्ता बापत २५ हजार रुपैया उपलब्ध गराएको छ । नगर स्तरीय विपद ब्यवस्थापन समितिको बैठकले, सिफारिस गरेका विपद पोर्टलमा भरेका ४१ घर धुरीका लागि रकम निकासा माग गर्ने निर्णय २०८२ बैशाख ३ गते गरेको अनुसार नै रकम प्राप्त गरेको कुरा बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनु भयो ।
बनेपा नगरपालिका वडा नम्वर १० का २ घर परिवार, वडा नम्वर ११ का ६ परिवार, वडा नम्वर १२ का २ परिवार, वडा नम्वर १४ का ११ परिवार, वडा नम्वर ३ र ४ का एक÷एक परिवार, वडा नम्वर ५ का १४ परिवार र वडा नम्वर ९ का ४ घर परिवारका लागि रकम प्राप्त भएको छ । पहिलो किस्ता बापतको रकम प्राप्त भए पछि त्यसको खर्चका आधारमा दोश्रो किस्ता बापतको रकम उपलब्ध हुनेछ । ५० हजार दिने निर्णयसँगै स्थायी बसोबासका लागि आवास निर्माण गर्न थप रकम प्राप्त गर्ने कुरा प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने बताउनु भयो ।
