राष्ट्रिय सहकारी दिवस तथा अन्तराष्ट्रिय सहकारी बर्षको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । बुधबार जिल्ला सहकारी संघ काभ्रेको मुख्य कार्यालय बनेपामा राष्ट्रिय झण्डा र सहकारीको झण्डोत्तोलन, बृक्षारोपण, खुल्ला रक्तदान र फुटसल प्रतियोगितामा विजयीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । जिल्ला -सहकारी संघको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपामा सहकारीमा समस्या देखा परेपछि समाधानका लागि के कस्तो काम गर्न सकिन्छ भनेर समन्वय गरिरहेको बताउनुभयो । प्रमुख शाक्यले आगामी २०८२ साल भदौ १ गते बनेपा नगरपालिकाको अगुवाईमा ८२ औं सहकारी दिवस मनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारीको बृद्धि विकासमा आफ्नो टिमले काम गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका पूर्व अध्यक्ष दिलिप शर्मा, बागमती प्रदेश सहकारीका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, सहकारीको उपाध्यक्ष शान्ति लामा, सचिव प्रकाश बञ्जारा, नेपाल पत्रकार महासंघ -काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले सहकारी क्षेत्रको समस्या, चुनौती र योगदानका बारेमा आ–आफ्नो धारणा राख्नुभयो । उक्त अवसरमा जिल्ला स्तरीय फुटसल प्रतियोगिताको विजेता ज्योति मिर्मिरे साकोस प्रथम, ईन्द्रेश्वर साकोस पनौती दोश्रो रोशी साकोस पनौती तेस्रो लाई नगद ट्रफी सहित पुरस्कार वितरण गरिएको थियोे भने कार्यालय परिसरमा ५० वटा बिरुवा रोपिएका थिए ।
