नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनीको राजमार्ग अन्तर्गतको ४ किलोमिटर सडक बनाउन नसक्दा जनताको आलोचना व्यहोर्नु परिरहेको गुनासो गरेका छन् । गत मंगलबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । निर्वाचनलाई लक्षित गरेर २०८४ भन्ने गरिएको भएपनि जनताले अहिले नै चौरासी गर्न लागिसके भन्दै व्यंग्य गर्नुभयो । ‘जसलाई जहाँ दुखेको छ त्यहीँबाट आफ्ना कुराहरू सुरु हुने र आफूले उठाएको कुराले मन्त्रीको चित्त दुखेको भन्दै सडक नबन्दा जनताको चित्त दुखेको बताउनुभयो । ‘उदेक लाग्दो कुरा के छ भने मेरो त घोक्रो पनि सुक्यो, नसा पनि फुल्यो, अब ०८४, ०८४ भनेका छन् । अहिले नै जनताले चौरासी गर्ने जस्तो स्थिति भइसक्यो । केरुङ नाका नखुल्दासम्म अरनीको राजमार्ग एउटा मात्रै चीन जोड्ने माध्यम भएकाले समयमै निर्माण गर्न उहाँले आग्रह गर्नुभयो । ‘जसलाई जहाँ दुखेको छ, कुरा त्यहीँबाट सुरु हुन्छ । मन्त्रीज्यूको चित्त दुःख्यो अरे मैले कुरा उठाएँ भनेर । यो चित्त मेरो दुखेको होइन हजुर, त्यो क्षेत्रबाट निर्वाचित सांसद हुँ म । अरनीको हाइवे हो,’ बास्कोटाले भने, ‘२०२६ सालमा बनेको र यो अहिले केरुङ पट्टिको बाटो नहुँदा चीनसँग जोड्ने एउटा मात्रै मार्ग हो । २२ अर्ब राजस्व सरकारले तोकेको छ, तातोपानी भन्सार । केही पनि हिँड्दैन त कहाँबाट आउँछ ?’ अरनीको राजमार्गको ४ किलोमिटर बाटो ४ वर्षसम्म किन बनेन भनेर कहिल्यै मन्त्रालयमा समीक्षा भएन भन्दै उहाँले प्रतिप्रश्न गर्नुभयो ।
