रोशी गाउँपालिकाको गाउँ सभाको १६औँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाको सभाध्यक्षतामा सम्पन्न भएको गाउँ सभाले शिक्षा विधेयक २०८१ र विज्ञापन विधेयक २०८१ पास गरेको छ । गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबाले प्रस्ताव गरेको विभिन्न प्रस्तावहरु सभाले पास गरेको हो । गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामाले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनमा रोशी गाउँपालिकाका नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, शासकीय र पूर्वाधारको विद्यमान अवस्थामा सकारात्मक परिवर्तन ल्याई समग्र क्षेत्रको सुधार गरी उल्लेखनीय कार्य गरेको उल्लेख गरिएको छ । चालु आर्थिक बर्ष २०८१÷०८२ मा कुल ६५ करोड ७७ लाख ९८ हजार आय र व्यय हुने अनुमान गरेकोमा ४४ करोड ३४ लाख ६० हजार ८ सय ९१ आय भएकोमा ३२ करोड ७१ लाख ७३ हजार ८ सय व्यय भएको प्रवक्ता लामाले जानकारी दिनुभयो । जसमा ४९ दशमलव ७३ प्रतिशत व्यय भएको छ । न्यायिक समितिमा ९ वटा उजुरी परेकोमा ५ वटाको मिलापत्र भएको र ४ वटा बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । सभाले विनियोजन ऐन माथिको संशोधन प्रस्ताव र लेखा समिति, विधेयक समिति र विकास तथा सुशासन समितिका सदस्य मनोनयन प्रस्ताव समेत पारित गरेको छ । उक्त कार्यक्रममा रोशी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष धनजित लामाले शुभकामना मन्तव्य राख्नुभएको थियोे । सभाले आर्थिक बर्ष २०८१÷०८२ को अर्धबार्षिक प्रगती प्रतिवेदन र न्यायिक समितिको अर्धंबार्षिक प्रतिवेदन समेत पास गरेको छ ।
