काठमाडौं, १७ चैत्र – नेपाल बार एशोसिएसनको चुनावी माहौल तातेका बेला उपयुक्त मौकाको फाईदा उठाउँदै भित्रभित्रै पैसाको बार्गेनिङ भएको देखिएको छ । उम्मेदवारहरूबीचको बहसदेखि चुनाव प्रचारसम्म आर्थिक लेनदेनको चर्चा चुलिएको छ ।
गत आइतबार योङ लयर्स एशोसिएसन नेपालद्वारा आयोजित ‘प्रेसिडेन्टियल डिबेट’ कार्यक्रममा अध्यक्षका उम्मेदवारहरूसँग मोटो रकम मागिएको थियो । उम्मेदवार द्वय प्राध्यापक डा.विजय प्रसाद मिश्र र रमण श्रेष्ठले मागेजति रकम उपलब्ध गराएका कारण उनीहरूलाई मात्र बहसमा सहभागी गराइयो। अन्य उम्मेदवारहरुमा अधिवक्ता आशिष पौडेल, राजु कैती र उज्वल घिमिरेले रकम नदिएका कारण उनीहरूलाई भने बहसमा सहभागि गराईएन । जसबाट एशोसिएसनभित्र निहित स्वार्थ छर्लङ्ग देखिन्छ ।
अध्यक्षका उम्मेदवार आशिष पौडेलले कम्तीमा ५० हजार रुपैयाँ माग गरिएको खुलासा गरेका छन्। बारको चुनाव प्रचारका क्रममा भित्रभित्रै व्यापक आर्थिक लेनदेन भइरहेको उनले बताएका छन् । बार अध्यक्ष भएपछि न्यायाधीशसम्म बनाउने पहुँच छ भन्दै चुनावमा साम, दाम, दण्ड, भेदजस्ता रणनीतिहरु अपनाउने गरिन्छ ।
विगतका बार अध्यक्षहरूमध्ये एक जना अधिवक्ताले बारको चुनावमा करोडौं रुपैयाँ खर्च हुने गरेको तितो अनुभव सुनाएका छन् । यसले गर्दा बारको चुनाव निष्पक्ष र पारदर्शी नभईकन आर्थिक शक्तिको प्रतिस्पर्धा मात्र बन्न पुगेको देखिन्छ ।
