२०८१ चैत्र १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । हिजो प्रतिनिधिसभा र राष्ट्रिय सभालाई छुट्टाछुट्टै सम्बोधन गर्नुभएको प्रधानमन्त्री ओलीले तीनकुने घटनाको पृष्ठभूमिमा पूर्वराजा ज्ञानेन्द्र शाह नै रहेको उल्येख गर्नुभयो ।
यस्तो ठोकुवामा पुग्नु अगाडि उहाँले पूर्वराजा ज्ञानेन्द्रको गत ७ फागुनको अभिव्यक्ति स्मरण गरे । ‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत ७ फागुनमा आफू अघि बढ्न साथ देऊ भन्दै वक्तव्यबाजी गर्नुभयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । त्यसको लगत्तै ठाउँ–ठाउँमा पूर्वराजाको स्वागतमा कार्यक्रम राखिएको र जनमत भड्काउने काम सुरु भएको उहाँको भनाइ रहेको थियो ।
‘२५ फागुनमा कथित स्वागत सवारी आयोजना गरियो र १४ चैतमा समाज बिथोल्न लागि परेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमान्डर तोक्नुभयो र हिंसात्मक वारदातमा खटाउनुभयो ।’
२५ फागुनमा पोखराबाट जहाजमा काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकले त्रिभुवन विमानस्थल बाहिर स्वागत गरेका थिए । निर्मल निवाससम्मै पु¥याउन समर्थकको ¥याली निकालेका थिए । त्यसलाई प्रधानमन्त्री ओलीले ‘कथित स्वागत’ को संज्ञा दिनुभएको हो ।
१५ चैतमा राजावादीले तीनकुनेमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्रले दुर्गा प्रसाईंलाई आन्दोलन कमान्डर तोक्नुभएको थियो । प्रसाईंलाई अवाञ्छित व्यक्तिको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले त्यस्ता व्यक्तिलाई आन्दोलनको कमान्डर भनेर प्रर्दशनमा पूर्वराजा ज्ञानेन्द्रको आलोचना गर्दै क्रुद्धरुपमा प्रस्तुत हुनुभयो ।
प्रसाईंको नेतृत्वमा राजावादीले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएको थियो । तर, प्रदर्शन नसकिँदै प्रदर्शन स्थल छाडेर उनीहरूले आसपासका निजी घरहरूमा क्षति पु¥याएका थिए । निजी घरमा लगाइएको आगोमा जलेर एभिन्यूजका पत्रकार सुरेश रजकको जलेर मृत्यु भयो । गोली लागेर अर्का एक प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो ।
राजावादीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजानी गरे । माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड प्रयास गरे । जडीबुटी कम्पनीमा आगजनी गरे । अन्नपूर्ण पोष्टको कार्यालयमा आगो लगाए ।
कान्तिपुर मिडिया हाउसको भवनमा आगजनी प्रयास गरे । अन्य मिडिया हाउसमाथि समेत आगजानी र तोडफोड प्रयास गरे । प्रदर्शनका क्रममा ३० जनाभन्दा बढी घाइते भएका छन् । यी गतिविधिको प्रधानमन्त्री ओलीले आलोचना गरेका हुन् । राजावादीको आन्दोलनका कमान्डर प्रसाईंको चरित्रबारे पनि प्रधानमन्त्री ओलीले संसद्मा प्रश्न उठाउनुभयो ।
‘सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित जनकमान्डर आफैंले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुन्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात सुरु गरियो’ प्रधानमन्त्री ओलीले राजावादीको प्रदर्शन स्मरण गरे ।
‘...जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुन्छ । घटनामा संलग्नहरूमाथि छानबिन सुरु भएको छ । यसका योजनाकार को हुन् र को–को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ,’ ओलीले भन्नुभयो ।
