आज अलि फरक प्रसङ्गका कुरा गरौं, एक भारतीय–अमेरिकी अंतरिक्ष यात्री सुनीता विलियम्सका। उनको अहिले सर्वत्र चर्चा भइराखेको छ । त्यो चर्चा अन्तरिक्ष यात्राको नभएर उनको आध्यात्मिकताको छ । विज्ञान र आध्यात्मिकताको एउटा राम्रो समिश्रण बनेकी छन् सुनिता यतिबेला । उनले केवल अन्तरिक्ष अन्वेषणमा मात्र आफ्नो नामलाई संसारभरि चिनाएकी छैनन् अपितु आध्यात्मिकतालाई पनि साथमै लिएर हिँड्न सक्ने एक उदाहरणीय महिलाको रुपमा आँफुलाई अगाडि सारेकी छन् । पूर्वीय दर्शन, संस्कृति र संस्कारसँग जोडिएको उनको आफ्नो पूर्वजको पहिचानलाई आज अन्तरिक्षमा समेत पुर्याउन सफल भएकी छन् । उनको यो लगाव र आध्यात्मिक चेतनाले आज करोडौं मान्छेहरूलाई प्रेरणा मिलेको छ ।
यहाँ चर्चा गर्न खोजिएको विषय सुनिताले आफूसँग सँगै अन्तरिक्ष यात्राको दौडान लगेकी गणेशजीको मूर्ति र भगवत गीता एबम् उपनिषद ग्रन्थको हो । यसबाट सुनिता आफ्नो सांस्कृतिक धरोहरसँग कति गहिरो लगाव राख्दिरहीछन् भन्ने कुरा आज संसारभरिका करोडौं मान्छेहरुलाई ज्ञात हुन गएको छ । भगवान श्री गणेशजीको विग्रह र भगवत गीता एवं उपनिषद् ग्रन्थलाई अन्तरिक्षमा लिएर जाने उनको निर्णयले सायद उनीलाई र आध्यात्मिक चेत भएका मानिसहरूलाई त्यति ठूलो अर्थ नराख्ला किनभने यी सबैजना आफ्नो पुरातन सांस्कृतिक पहिचानमा अभ्यस्त र ज्ञान हासिल गर्न सक्ने भइसकेका छन् तर दुनियाभरिका अन्य दर्शक एवं आध्यात्मिक चेत कम भएका मानिसहरूको लागि भने यसले ठूलो अर्थ राख्दछ ।
एउटा सानो जानकारी पनि लीईराखौं, सुनीता विलियम्स नासा अंतरिक्ष यात्रीको रूपमा यसभन्दा पहिले दुईपटक सन् २००६ र २०१२ को अन्तरिक्ष मिसनमा सामेल भइसकेकी एक अन्तरिक्ष वैज्ञानिक हुन् । उनले आफ्नो अन्तरिक्ष मिसनमा काम गर्दा करिब एक वर्ष जति अन्तरिक्षमै बिताइसकेकी छन् । उनको यो एक वर्षको समय अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बसेर अन्तरिक्ष सम्बन्धी अभूतपूर्व अनुसन्धान र विभिन्न यान्त्रिक वैज्ञानिक प्रयोग गरेर बिताएकी छन् । उनको अनुसन्धानले ब्रह्माण्डको बारेमा मानव जगतलाई जानकारी दिनु त थिँदै थियो जो सबै अन्तरिक्ष यात्रीहरूले गर्ने गर्दछन् । आफ्नो असाधारण कौशल ज्ञान र विज्ञतालाई संसार सामु देखाउनु पनि कुनै अनौठो थिएन अन्तरिक्ष यात्रीहरूले गर्ने त्यही नै हो । तर त्योभन्दा पनि फरक उनले अन्तरिक्षमा जाँदा लगेको प्रतिकात्मक वस्तुहरू जसले अहिले संसारभरि चर्चा पाएको छ । व्यक्तिगत रूपमा सुनिताले गरेको यस्तो प्रतिकात्मक चयन जसले सारा जगतको भौतिक एबम् पार्थिव वस्तु र दिव्य एबम् आध्यात्मिक वस्तुको बीचमा एउटा सम्बन्ध सेतुको काम गर्ने गरेको छ ।
अब यहाँ सबैभन्दा पहिले सुनिताले भागवत गीतालाई अन्तरिक्षमा लिएर किन गइन् त भन्ने प्रसङ्गतिर लागौं। हामी सबैलाई थाहा छ भगवत गीता सनातन हिन्दु धर्मावलम्बीहरूको एउटा केन्द्रीय ग्रन्थ हो जहाँ भगवान श्रीकृष्णले अर्जुनलाई रणभूमिमा आफ्नो कर्तव्य सम्झाउनु भएको परिसंवाद पढ्न पाइन्छ । गीता एउटा ज्ञान विज्ञानको सागर पनि हो जसमा भगवान श्रीकृष्णले मानव कर्तव्यको बारेमा अर्जुनलाई राम्रो शिक्षा दिनुभएको छ । भगवद गीतालाई अंतरिक्षमा लिएर गएर आफ्नो कर्तव्यबाट च्युत नहुने कुनै पनि परिणामको आशा नगरिकन कर्म गर्ने र आफ्नो मनको आन्तरिक शान्तिलाई सार्वभौम बनाउने सायद कुनै सन्देशहरु सुनिताले संसारभरिका मानवका लागि दिएकी हुनुपर्छ । भगवत गीतामा मानव जगतलाई बुझ्ने तरिका, व्यक्तिगत एवं सामूहिक नैतिकता, जीवनको उद्देश्य एबम् आत्म–खोजको विषयमा राम्रोसँग व्याख्या गरिएको छ जुन विषय सुनिताको लागि पनि प्रेरणाको स्रोत बनेको हुनुपर्दछ । सुनिताको लागि गीता सम्भवत एउटा अन्तरिक्ष यात्रीको रूपमा उनले अन्तरिक्ष स्टेसनमा भोग्नुपर्ने तमाम बाह्य अनुसन्धानत्मक दबाब र मनभित्र आउने अनेकानेक विचलनहरूका बीचमा सामन्जस्यता ल्याउनको लागि पनि भूमिका खेल्ने एउटा मार्गदर्शक श्रोत ग्रन्थको रुपमा उनले लिएकी हुनुपर्दछ । भगवत गीतासँगको सुनिताको अनुरागले के कुरा स्पष्ट हुन्छ भने मान्छेको मनमा दृढता र वैराग्यता यी दुई कुराले डेरा जमाएको हुन्छ । यी दुवै चिजलाई सामन्जस्य गर्नु निकै चुनौतीपूर्ण काम हो । यस्तो चुनौतीपूर्ण परिस्थितिलाई सामना गर्नको लागि कोही एक मार्गदर्शकको आवश्यकता पर्दछ र गीता त्यही मार्गदर्शक हो हामीहरूको लागि । किम् कर्तव्य बिमुढ हुँदा हामीलाई सही दिशा दिने, एकान्तमा बसेर अध्यात्मचिन्तनमा रमाउन सकिने, सांसारिक, भौतिक एवं आध्यात्मिक विषयहरुलाई गहिरोसँग बुझ्न सकिने, यस्तो मार्ग निर्देशन गर्ने एकमात्र ग्रन्थ भगवत गीता रहेछ भन्ने कुरा सायद सुनिताले बुझेको हुनुपर्दछ । बाँकी क्रमश....
