IMG-LOGO

रोटरी धुलिखेलद्धारा निःशुल्क वृहत आँखा शिविर सम्पन्न

 मंगल, चैत ११, २०८१  --

     रोटरी क्लब अफ धुलिखेलले अन्तर्राष्ट्रिय साझेदारहरू र स्थानीय सरकारहरूसँगको समन्वयमा काभ्रे, सिन्धुली, उदयपुर, सिराहा र मोरङ जिल्लामा फागुन १८ देखि २५ गते (सन् २०२५ मार्च २–१३) सम्म निःशुल्क वृहत आँखा शिविर सम्पन्न भएको छ । उक्त शिविर रोटरी क्लब अफ धुलिखेलको आयोजनामा तथा अन्तर्राष्ट्रिय साझेदार रोटरी अष्ट्रेलिया र्वल्ड कम्युनिटि सर्भिस, रोटरी क्लब अफ अन्ले, रोटरी क्लब अफ डब्बो साउथ, रोटरी क्लब अफ एडवाड्र्सटाउन, रोटरी क्लब अफ बेल्भोइर वोडोंगा, फ्लिन्डर्स युनिभर्सिटी, रोटरी क्लब अफ एडिलेड, रोटरी क्लब अफ अल्बरी नर्थ तथा स्थानीय साझेदार सिन्धुली कम्युनिटी टेक्निकल इन्स्टिच्युट, रोटरी क्लब अफ लाहान, रोटरी क्लब अफ इटहरी, रोटरी क्लब अफ विराटनगर डाउनटाउन, किवानिज क्लब अफ काभ्रे नेपाल, कटारी चेम्बर अफ कमर्स, रेयुकाई आइको मासुनागा आँखा अस्पताल तथा स्थानीय सरकारको सहयोगमा सञ्चालन गरिएको थियो ।

     शिविर अन्तर्गत पाँच जिल्लाका विभिन्न स्थानहरूमा कुल ८ वटा शिविर सञ्चालन गरिएको थियो । नेपाल र अष्ट्रेलियाका ३८ जनाको टोली, जसमा आखाँ विशेषज्ञ अप्टोमेट्रिस्ट, स्वयंसेवक, समन्वयकर्ता तथा व्यवस्थापकहरू सहभागी थिए । उक्त शिविरमा ४२९५ जनाको आँखा परीक्षण गर्न सफल भएको थियो, जसमा १८५६ पुरुष र २३९५ महिला रहेका थिए । परीक्षणका क्रममा २५८७ जनालाई निशुल्क चस्मा तथा औषधि वितरण गरिएको थियो भने ७४ जना मोतियाबिन्दु भएका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि नजिकका अस्पतालहरूमा सिफारिस गरिएको छ ।

     रोटरी अष्ट्रेलिया, रोटरी क्लबहरू तथा आँखा अस्पतालहरूको सहकार्यमा २४ वर्षभन्दा बढी समयदेखि नेपालका दुर्गम समुदायमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ । पहुँच बाहिर रहेका समुदायहरूमा पुगेर निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्रदान गर्ने, निःशुल्क आँखा जाँच, आँखा परीक्षण, चस्मा वितरण, औषधि तथा परामर्श सेवा उपलब्ध गराउने, मोतियाबिन्दु भएका बिरामीहरूलाई निःशुल्क शल्यक्रियाका लागि अस्पतालहरूमा सिफारिस गर्ने, आँखा रोगका विभिन्न केसहरूको अध्ययन गर्ने तथा नेपाल–अष्ट्रेलिया बीच ज्ञान तथा सीप आदान–प्रदान गर्ने यस योजनाको मुख्य उद्देश्य रहेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्