“नेपाली मौलिक संस्कृतिको छुट्टै पहिचान, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने हाम्रो अभियान” भन्ने नाराका साथ प्रथम पनौती साँस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठान नेपालको आयोजना एवं पनौती उद्योग वाणिज्य संघको सहकार्यमा यहि चैत २१ गतेदेखि वैशाख ३ गतेसम्म महोत्सव हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले पनौतीको कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक र हस्तकलाको जीवन्त प्रदर्शन गर्दै स्थानीय कला, संस्कृति, घरेलु उद्योग र व्यापारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमा कृषि उत्पादन, स्थानीय हस्तकला र घरेलु सामग्रीका आकर्षक व्यापारिक स्टलहरु रहनेछन् । बालबालिकाको मनोरञ्जनका लागि आधुनिक बालउद्यानको व्यवस्था गरिएको छ। प्रत्येक साँझ राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने यस क्षेत्रका नयाँ प्रतिभाहरुलाई पनि आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिनुभयो ।
चैत २१ गते पनौतीको मौलिक कला संस्कृति झल्कने जीवन्त झाँकी प्रदर्शनी, परम्परागत बाजागाजा र मनमोहक मौलिक नाचहरु सहित महोत्सवको भव्य उद्घाटन समारोह आयोजना गरिनेछ । कार्यक्रममा पनौती नपा –७ का वडाध्यक्ष सबिन ताम्राकार, पत्रकार महासघं काभ्रेका अध्यक्ष बिनोद न्यौपाने लगायत सन्चारकर्मिहरुको उपस्थिति रहेको थियोे ।
