बनेपा नगरपालिकाले आ.ब २०८१/८२ मा सम्पादित योजना तथा कार्यक्रमहरुको अर्धवार्षिक समीक्षा गोष्ठी आईतवार नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ । नगरपालिकाले चालू आर्थिक बर्षको ६ महिनामा ५ करोड ४१ लाख ४० हजार ५ सय ६५ रुपैयाँ राजस्व संकलन भएको बताईएको छ । नगरप्रमुख शान्तिरत्न शाक्यले चालु आर्थिक वर्षको ६ महिनामा ३४ प्रतिशत मात्र खर्च भएकोले जनप्रतिनिधिहरूलाई गम्भीर भएर कार्य गर्न अनुरोध गर्नुभयो । उपप्रमुख विमला सापकोटा दाहालले जेठको अन्त्यमा सम्झौता गर्ने प्रवृत्तिको अन्त्य गर्दै असार १५ गतेभित्र योजना सम्पन्न गरी भुक्तानी प्रक्रियामा लैजान निर्देशन दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जनप्रतिनिधिका तर्फबाट बनेपा वडा नम्बर १२ का वडाध्यक्ष राम बहादुर कुँवर र वडा न ७ कि वडासदस्य दुर्गा परियारले नगरपालिकाले आयोजना गरेको समीक्षा कार्यक्रमबारे संक्षिप्त मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरूले शाखागत प्रगति प्रस्तुतीकरण गरेका थिए । नगरपालिकाले प्रक्षेपण गरेको मध्ये ४१.९२ प्रतिशत राजस्व संकलन भएको लेखा शाखा प्रमुख विनोद हुमागाईंले जानकारी दिनुभयो । आ.व. २०८१/८२ मा विनियोजित कुल १ अर्ब २६ करोड ५५ लाख २६ हजार १ सय ८८ रुपैयाँमध्ये पुस मसान्तसम्म २३.९८ प्रतिशत मात्र खर्च भएको छ। चालु खर्चतर्फ ३७.५४ प्रतिशत र पूँजीगत खर्चमा ५.६८ प्रतिशत मात्र प्रगति भएको बताईएको छ । पुस मसान्तसम्म ३८.४१ प्रतिशत मात्रै राजस्व संकलन भएको राजस्व शाखा प्रमुख सुमन भुर्तेलले जानकारी दिनुभयो । घरबहाल कर, पार्किङ शुल्क, शौचालय करमा १५ प्रतिशत प्रगति भएको छ । नगरपालिकामा १,८०५ व्यवसाय सञ्चालनमा रहेकोमा १९६ थपिएर हाल २,००१ पुगेका छन् । कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत शिवराज त्रिपाठीले नगरपालिकामा हाल ३९८ शिक्षक दरबन्दी रहेको बताउनुभयो । शिक्षा शाखाको कुल बजेटमध्ये ५०.८८ प्रतिशत खर्च भइसकेको छ भने समग्रमा ४८.५१ प्रतिशत प्रगति भएको छ । कृषि शाखाका प्रमुख टंक बहादुर अधिकारीले बनेपा लायकु राजमञ्चमा सञ्चालन भएको हाटबजारबाट मासिक १४–१५ हजार राजस्व उठ्ने गरेको जानकारी दिँदै, कृषकमैत्री व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो । योजना तथा प्राविधिक शाखा प्रमुख संगम भुजेल र चन्दन घ्योजुका अनुसार २८७ योजनाहरू कार्यान्वयनमा गइसकेका छन् भने १० लाखभन्दा माथिका ठेक्कामार्फत प्रक्रिया अगाडि बढाइएको छ । हालसम्म १७७ नक्सा पास भइसकेको, एमटीएमपी तथा ई–बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) लागू भइसकेको, र १०,००० घरहरूको हाउस नम्बरिङ सम्पन्न गरिनेछ । स्वास्थ्य शाखा प्रमुख महेश्वरकाजी श्रेष्ठले ७० जना विपन्न रोगीहरूको उपचारका लागि सिफारिस गरिएको, ५१६ जनालाई रेबिज खोप र ८ जनालाई स्क्रबटाइफस खोप दिइएको जानकारी गराउनुभयो । स्वास्थ्य शाखाको भौतिक प्रगति ५७.६३ प्रतिशत र वित्तीय प्रगति ३६.१९ प्रतिशत रहेको छ ।
यस्तै पशुसेवा शाखा प्रमुख चिरञ्जीवी शर्माले निःशुल्क पशुबीमा कार्यक्रम, कृत्रिम गर्भाधान लगायतका योजनाहरूमा उल्लेखनीय प्रगति भएको जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक शान्ता कुँवरका अनुसार ३९६ जनालाई श्रम स्वीकृति प्रदान गरिएको छ भने ४० जना रोजगारीमा संलग्न भएका छन्। कानुन शाखाका न्यायिक सहजकर्ता सविता सापकोटाले साधसिमाना विवादहरू प्रमुख समस्याको रुपमा रहेको उल्लेख गर्नुभयो । कार्यक्रम संचालक एवं प्रशासन प्रमुख यादव खनालले सूचना प्रबिधि, जिन्सी र पञ्जिकरणको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी सुनिता राय, सामुदायिक बिकास तथा सहकारी शाखा प्रमुख बिकास रम्तेलले आ–आफ्नो शाखा मार्फत भएका कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरका शाखा प्रमुखहरु, पत्रकार एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
