उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार –२०८१ पलाञ्चोक साप्ताहिकका प्रधानसम्पादक शुभराज अधिकारीलाई प्रदान गरिएको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले उनलाई ५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो । २०६६ साल फागुन १५ गते घरबाट ललितपुरको गोटिखेलस्थित क्याम्पस अध्ययन गर्न जाने क्रममा सवारी दुर्घटनामा परी उर्मिला सापकोटाको निधन भएको थियो । उनको स्मृतिमा बाबु गोपालकृष्ण सापकोटाले १ लाख राशीको अक्षयकोष स्थापना गरि प्राप्त व्याजबाट हरेक बर्ष एक जना पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं १ का अध्यक्ष मधुसुदन तिमल्सिना, नेपाल प्रेस युनियन काभ्रेका सल्लाहकारहरु इश्वरी ओझा, महेशराज पौडेल, बद्रिराज तिमल्सिना, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य कपिल कोइराला, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी लगायत युनियनकर्मिहरुको उपस्तिथि रहेको थियो । स्व. उर्मिलाका बुबा गोपालकृष्णले डाँडापारी क्षेत्रका समाचार लेख्ने पत्रकारलाई पुरस्कृत गरिने भएकोले आगामी दिनमा डाँडापारी क्षेत्रका समस्या अझै सञ्चारमाध्यममा आउने अपेक्षा राख्नुभयो ।
