धुलिखेल/नेपाल शिक्षक महासंघ काभ्रेले शिक्षा विकास तथा समन्वय इकाई काभ्रेमा ध्यानाकर्षण पत्र बुझाएको छ । काभ्रे जिल्ला भित्र रहेका पेशागत संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागितामा समन्वय इकाईमा ज्ञापनपत्र बुझाईएको शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
ज्ञानपत्रमा नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भुप्रसाद घिमिरे, नेपाल शिक्षक संगठन काभ्रेका अध्यक्ष भिमसेन हुमागाई, एकिकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेका अध्यक्ष चेत लामा, नेपाल शिक्षक महासंघ काभ्रेका सचिव बासु थापा, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष प्रेमबहादुर बस्नेत, नेपाल शिक्षक परिषद् जिल्ला समितिका अध्यक्ष खड्गप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् । जिल्लामा बुझाईएको ज्ञापनपत्रमा विद्यालय शिक्षा ऐनमा समावेश गर्नु पर्ने २२ बुँदे माग सहित थप शिक्षा विकास तथा समन्वय इकाईसँग ९ बुँदे माग समावेश गरेको छ । गाउँपालिका र नगरपालिकामा बास्तविक दरवन्दी एकिन गर्न, भौतिक निर्माण सम्पन्न भएका विद्यालयहरुको फरफार हुन बाँकी भएकाहरुको तत्काल भुक्तानी गर्न, स्थानीय तहमा शिक्षकहरुलाई गरिएको विभेदपूर्ण ब्यवहारको अन्त्य गर्न, शिक्षक सरुवामा भएको अनियमितता रोक्न, असोज १०–१२ मा क्षति पुगेका विद्यालयहरुको पुर्ननिर्माण गर्न, आधारभुत तह र एसईई परिक्षा लगायतमा एकरुपता र मर्यादित बनाउन, शिक्षा समन्वय इकाईबाट प्रदान गरिने सूचनालाई प्रधानाध्यापकहरुलाई एसएमएस गर्नु पर्ने लगायतका ९ बुँदे माग बुझाईएको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष भिमसेन हुमागाईले बताउनुभयो ।
शिक्षक महासंघ केन्द्रिय समितिले २२ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ । उक्त मागहरु समयमा सम्बोधन नभए फागुन १५ गते हरेक प्रदेशका सामाजिक विकास मन्त्रालयमा र फागुन २४ गते राजधानीमा बृहत्त प्रर्दशन गर्ने कार्यक्रम शिक्षक महासंघले तय गरिसकेको छ भने फागुन २६ गते सम्म सरकारले माग प्रति सुनुवाई नगरे थप आन्दोलन घोषणा गर्ने तय गरेको शिक्षक संघका अध्यक्ष घिमिरेले बताए । बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र संस्थागत विद्यालयमा शिक्षकका लागि उचित तलबमान, शिक्षकको ग्रेड मिलान, शिक्षकको मर्यादाक्रम, शिक्षक अस्पताल, शिक्षक सरुवा कार्यविधीको खारेज, मासिक तलब भुक्तानी जस्ता विषय बस्तुहरुको उठान गरेको छ ।
