सामुदायिक सुरक्षा जालो तथा महिलाबादि आन्दोलनको सुदृढिकरणका लागि दोस्रो चरणको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार बनेपा नगरपालिका हलमा सम्पन्न भएको छ । बनेपा नगर उपप्रमुख विमला सापकोटा दाहालको प्रमुख आतिथ्यता एवं आयोजक महिला जागरण समुहकी अध्यक्ष निर्मला श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । लैङ्गिक हिंसा तथा समावेशीकरण विषयमा केन्द्रीत रहेर आयोजना गरिएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा देवकी दाहाल, कृष्ण गोपाल तौजले, सिता वजगाई, सविना श्रेष्ठ, भिमा लुइटेल लगायतले जनसरोकारका विषयप्रति आ–आफ्नो गुनासो राख्नुभएको थियो । कार्यक्रममा उठेका गुनासो टिप्पणीलाई नगर उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, स्वास्थ्य शाखा प्रमुख आशिष कडेल, कृषि शाखा प्रमुख टंक अधिकारी, सहयोगी संस्था टेवाकी शोभा शाक्य, इलाका प्रहरी कार्यालय बनेपा प्रमुख डिएसपी ज्ञान बहादुर खड्का लगायतले सम्बोधन गर्दै समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सभापति महिला जागरण समुहकी अध्यक्ष निर्मला श्रेष्ठले कार्यक्रमको औचित्यता र भावि रणनीतिका बारेमा जानकारी दिनुभएको थियो । विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सचित खड्काले गर्नु भएको थियो ।
