स्याङजा जिल्ला फेदीखोला गाउँपालिका वडा नं. १ मा जन्मनु भएका टंकवहादुर थापाले २०४९ सालबाट शिक्षण सेवा सुरु गर्नुभयो । द्य।कअभ, :ब् र :भम शैक्षिक योग्यता हाँसिल गर्नुभएका थापाले प्रारम्भमा भने संस्थागत विद्यालय सिद्धार्थ बनस्थली इन्ष्टीच्युटबाट शिक्षण सेवा प्रारम्भ गरी २०६३ मा स्थायी नियिुक्त भई आफ्नो शैक्षिक उर्वराशक्ति खर्च गर्नुभयो । २०८१ श्रावण देखि सञ्जीवनी नमुना मावि धुलिखेलको प्रधानाध्यापकको जिम्मेवारी समाल्नु भएको छ । शैक्षिक स्तरीयता कायम गर्न शिक्षक, विद्यार्थी र अभिभावक त्रिपक्षीय रुपमा प्रगाढ सम्बन्धले हाँसिल गर्न सकिने बताउनु हुन्छ प्र.अ. थापा । संघ, प्रदेश र स्थानीय सरकारले शैक्षिक क्षेत्रको विकासमा पहिलो प्राथमिकताका साथ अघि बढ्ने नीति, कार्यक्रम, बजेट उपलब्ध गराउनु पर्ने धारणा राख्नु हुन्छ प्रधानाध्यापक थापा । २००६ सालमा स्थापना भएको काभ्रे जिल्लाको शैक्षिक धरोहरको आधार स्तम्भ सञ्जीवनी नमुना माविको शैक्षिक आरोह अवरोह सवालमा रेडियो एविसीमा विद्यालयका प्रधानाध्यापक थापासँग गरिएको कुराकानीको मुख्य अंश प्रस्तुत गरिएको छ ।
सञ्जीवनी नमुना माविको शैक्षिक स्तरीयताको सवालमा प्रष्ट पारी दिनुसन् ?
“काभ्रे जिल्लाको शैक्षिक क्षेत्रको विकासमा अतुलनीय योगदान गरेको, शैक्षिक आधार स्तम्भ भएकै कारण पटक पटक बोर्ड प्रथम, बोर्ड टेन भएर देशकै नमुना विद्यालयको रुपमा परिचित छ । कक्षा ९ देखि १२ सम्म प्राविधिक धार, कक्षा ११ र १२ म विज्ञान, व्यवस्थापन र शिक्षा संकायको विषयहरु अध्यापन गरिन्छ । बालकक्षा देखि कक्षा १२ सम्म करिव सवा १२ सय विद्यार्थीहरु अध्ययन गर्ने शैक्षिक थलो बनेको छ । अभिभावक, शिक्षक, विद्यार्थीहरुको साथ सहयोग विश्वास, अगाध माया, सद्भावले शैक्षिक उन्नयन र विकास भएको मैले ठानेको छु । ” प्रविधिको प्रयोग आइसीटीको माध्यामबाट सिकाई, जीवन उपयोगी शिक्षा शिक्षक तथा कर्मचारीहरुको युनिटी सक्रियताका कारण विद्यार्थीहरुको शिक्षण सिकाईमा उल्लेखनीय उन्नती हुनसकेको छ । हाम्रो विद्यालयमा शिक्षक र कर्मचारी गरी ७४ जनाले कार्य गर्दै आउनु भएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कँदो अवस्था रहेको.उदाहरण गत शैक्षिक शत्रको एसईई परीक्षामा झण्डै आधा अनुतिर्ण भएको अवस्थाबाट बुझ्न सकिन्छ ? यसमा के भन्नु हुन्छ ?
शैक्षिक सुधारमा निक्कै चुनौती छ । सामुदायिक विद्यालयमा देश भरमा थोरै मात्र विद्यालयहरु शैक्षिक स्तरीयतामा राम्रो भएको अवस्था हो । सरकारले शैक्षिक क्षेत्रमा लगानीकम गरेको छ । अधिकांश सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सामाजिक, आर्थिक विपन्नता भएका अभिभावकका छोराछोरी अध्ययन गर्न आउनु, अभिभावकमा शैक्षिक चेतनामा अल्पज्ञान हुनु । संघ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो अधिकार क्षेत्र भित्र रहेर शैक्षिक सुधारका नीति अवलम्बन गरी शैक्षिक क्षेत्रमा लगानी बढाउन सक्नुले पनि शैक्षिक विकासमा प्रगति हुन सकेको छैन । विद्यार्थीहरुको रोजाई अनुसार जीवन उपयोगी शिक्षा ग्रहण गर्ने वातावरण तय हुनुपर्छ । हाम्रोे सञ्ंजीवनी स्कुलमा गत वर्ष पनि एसईईमा सतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । काभ्रे जिल्लामा केही सामुदायिक विद्यालयहरु पनि शैक्षिक क्षेत्रमा गुणस्तरीयता कायम गरी अघि बढेका छन् ।
विद्यालयले शैक्षिक सुधारमा भए गरेका सकारात्मक प्रयासका बारेमा बताउनुस्न ?
आइसीटीको माध्यामबाट अध्याप, मनोरम शैक्षिक वातावरण, सिकाई योजना, लर्निङ एण्ड अर्निङको प्रवन्ध, विद्यार्थीहरुको चौतर्फी विकास हुने शिक्षण सिकाई, जीवन उपयोगी शिक्षा, सहक्रियाकलाप ५ सय भन्दा बेसी विद्यार्थीहरुको लागि लर्निङ एण्ड अर्निङको लागि हाउस वाइरिङ, प्लम्बीङ सिप सहितको शिक्षा प्रदान गर्न हामी प्रतिवद्ध भई लागि परेका छांै ।
वर्तमान शिक्षा प्रणाली सर्टिफिकेट मुखी भयो बेरोजगार उत्पादन गर्ने उद्योगको रुपमा शैक्षिक संस्थालाई चित्रण गरियो । वास्तविकता त्यस्तै हो ? यहाँलाई के लाग्छ ?
आज भन्दा एक दशक अघिको पाठ्यक्रममा बढी सैद्धान्तिकर कम व्यवहारिक ज्ञान सहित भएको हो । अहिले पाठ्यक्रममा सुधार भई प्राविधिक धार, सिप सहितको शिक्षा प्रदान गर्ने कार्य गरिएको छ । विद्यार्थीहरुको क्षमता अनुसार अध्ययन गर्ने अवसर छ । हाम्रो विद्यालयको प्रमुख उद्देश्य नै विद्यार्थीहरुलाई सक्षम बनाउने उद्यमी बनाउने, विद्यार्थीहरुलाई सृजनशिल शिक्षा प्रदान गर्ने, पढेका विषयवस्तुहरु व्यवहारमा उतार्न हरेक वर्ष विज्ञान प्रदर्शनी , शैक्षिक प्रदर्शनी, उद्यमशिलताको विकासमा मद्धत पुग्ने गरी शैक्षिक योजना प्रस्तुत गरी कार्यान्वयन गरी अघि बढ्ने कार्य भएको छ ।
सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकका अधिकांश छोराछोरी संस्थागत विद्यालयमा पढाउने आफैँ भित्र विस्वास नभएर हो की अरु कुनै कारण देख्नु हुन्छ ?
नैतिक रुपमा र आफैभित्र विश्वास हुनुपर्छ । कोही कसैले भन्ने वातावरण बन्नु हुँदैनथ्यो । शिक्षकहरुलाई मात्र हैन सरकारी जागीर खाने नीजामती, स्थानीय तह होस या जनप्रतिनिधिका छोराछोरी सबै सामुदायिक विद्यालयमा पढ्ने नीति ल्याउनुपर्छ । सबैलाई समान हुनुपर्छ । राज्यले अहिले गरेको शैक्षिक लगानीलाई दोब्बर वृद्धि गर्नुपर्छ ।
आगामी शैक्षिक योजना के छन् ?
वार्षिक रुपमै शेक्षिक सुधार कार्य योजना अनुरुप नै शैक्षिक क्रियाकलाप सञ्चालन गरिएको छ । २०८१ देखि २०८५ सम्मको शैक्षिक गुणस्तर वृद्धि भौतिक पूर्वाधार विकास, मानव जनशक्ति विकास, व्यवस्थापकीय सुधारका योजना, निर्माण गरी अघि बढ्ने कार्य निरन्तर भई रहेको छ । स्थानीय सरकार धुलिखेल नगरपालिका शिक्षा शाखा, जनशक्ति विकास निर्देशनालय, सम्बन्धीत निकाय सबै सँग समन्वय गरी शैक्षिक गुणस्तर विकासको मुलमन्त्रलाई स्थापीत गर्न हाम्रो विद्यालयको व्यवस्थापन टिम शिक्षक वर्ग तथा कर्मचारी सबै एकतावद्ध भई लागेका छौँ । विद्यालयमा आर्थिक परदर्शीता र सुशासन कायम गर्नुपर्छ ।
विद्यार्थीहरुका शैक्षिक उपलब्धी हाँसिललाई गन्तव्यमा पुर्याउन थप कार्यको औचित्यता देख्नु हुन्छ ?
शैक्षिक क्षेत्रको विकासलाई गन्तव्यमा पुर्याउन पहिलो दायित्व सरकारको हो । दोश्रो शिक्षण सिकाईमा हरहालतमा सक्षम बनाउने जिम्मेवारी शिक्षकको हो । संस्कार र संस्कृति सिक्नु जान्नु आवश्यक छ । शिक्षक वर्गलाई नीजामती कर्मचारी सो सरह वृतिविकास, क्षमता विकास, अन्य सेवा सुविधा प्रदान गर्न नीति निर्माण गरी कार्यान्वयन गरिनु पर्छ । अस्पतालमा उपचार लगायतका सवालमा सरकारले ध्यान दिई अघि बढ्नु पर्छ । देशको समग्र विकासमा आवश्यक पर्ने जनशक्ति निर्माणको लागि सिप सहितको जीवन उपयोगी शिक्षा विद्यार्थीहरुलाई प्रदान गरी देशलाई समृद्ध बनाउन सबै लाग्नुपर्छ भन्न चाहन्छु ।
प्रस्तुतकर्ता : रमेश प्रसाद न्यौपाने
