पनौती/ काभ्रे पुण्यवती यातायात सेवा प्रा.लि.ले पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएकोमा नागरीकहरुको सेवा सुविधाको लागी इभी (विद्युतिय) माइक्रोबाट समेत सेवा प्रारम्भ गरेको छ । नागरीकहरुलाई खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तिनकुने हुँदै पुनः खोपासी र शंखु फर्कने गरी दुई वटा नयाँ रुट कायम गरिएका प्रालिका अध्यक्ष राजेश सुन्दर सैजूले बताउनुभयो । सैजुले ईभि गाडीको उद्घाटन गर्दै कात्तिक महिनामा कम्पनी मातहत रहेर इभी माइक्रो सेवा सुरु गर्न चाहने व्यक्ति र कम्पनीलाई आह्वान गरेकोमा हाल ५ वटा इभी माइक्रो दर्ता भएको र १० बस थप गरी आगामी दिनमा सञ्चालन गरिने सैजुले बताउनुभयो ।
हाललाई खोपासी बाट ५ वटा र शंखुबाट १ वटा इभी माइक्रोको सेवा सुरु भएको र यसको प्रभावकारिताका आधारमा १५ वटा इभी माइक्रो थप सञ्चालन गर्ने योजना रहेको सैजुले बताए । हाल खोपासीबाट ११ सिट क्षमताको र शंखुबाट १४ सिट क्षमताको माइक्रो इभी सञ्चालन भएको छ ।
काभ्रे पुण्यवती यातायात कम्पनीले पर्यावरण र प्रविधि जनघनत्वलाई समेत ध्यानमा राखेर इभी माइक्रो सञ्चालन गरिएको, छिटो छरितो सेवा दिनका लागि थोरै सिट भएका इभी माइक्रो सेवा थालिएको सैजुले बताउनुभयो । २०३४ सालमा काभ्रे मिनिबस सेवा समितिका रुपमा दर्ता भई हालसम्म डिजेलबाट सञ्चालित बस र मिनिबस सञ्चालन गरिरहेको हालको काभ्रे पुण्यवती यातायात प्रालिले काभ्रेपलाञ्चोक जिल्लामा इभी माइक्रो सञ्चालन गर्ने पहिलो कम्पनी बन्न पुगेको सैजुले उल्लेख गर्नुभयो । प्रालि अर्न्तगत जिल्लामा पनौती, काठमाडौ, ढुंखर्क, शंखु, कुशादेवी रयाले, च्याम्राङबेशी, भुग्देउ, बास्डोल लगाएतका ग्रामिण भेगमा सेमत मिनिबस सञ्चालन गरी उक्त क्षेत्रका नागरीहरुलाई सेवा दिर्दै आईरहेको छ ।
