धुलिखेल नगरपालिकाको ३९ औं स्थापना दिवस विविध कार्यक्रम सहित सोमबार मनाइएको छ । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटाले कार्यक्रमको उद्घाटन गर्दै धुलिखेल नगरले गरेको विकास र देश विदेशमा पु¥याएको ख्यातीको उच्च प्रशंसा गर्नुभयो । धुलिखेल नगरले नेतृत्व जन्माउने थलोको रुपमा पहिचान बनाउनेमा विश्वस्त रहेको बताउदै बाँस्कोटाले नगरप्रमुख व्याञ्जुको उज्वल राजनीतिक भविष्यको कामना गर्नुभयो । कार्यक्रमको सभाध्यक्ष एवं धुलिखेल नगरप्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले धुलिखेल नगर नेपालकै पहिलो स्वस्थ्य शहर, स्वच्छ खानेपानी युृक्त शहर, साक्षर नगरपालिका, बालमैत्री नगरपालिका, खुल्ला दिशामुक्त नगर, पूर्ण खोप सुनिश्चित नगर, छुवाछुत मुक्त नगर, अपाङ्गमैत्री नगर घोषणा भईसकेकोमा सम्पूर्ण नगरवासिहरुलाई धन्यबाद व्यक्त गर्नुभयो । आगामी दिनमा शून्य कार्वन सिटीे, ग्रिन सिटी, फिल्मी सिटी, आणवीक परिक्षण केन्द्र बनाउने मुख्य लक्ष्यका साथ कार्य गरिरहेको प्रमुख व्याञ्जुले जानकारी दिनुभयो । नगर उपप्रमुख निराजन जंगमले स्वागत मन्तव्य राख्दै नगरपालिकाको समग्र विकासका लागि दत्तचित्त भएर कार्य गरिरहेको बताउनुभयो । उक्त अवसरमा धुलिखेल नगरपालिका वडा नं. ८ कटुवापाखामा चलचित्र छायाङ्कन स्टुडियो बनाउनका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र नगरप्रमुख व्याञ्जु धुलिखेल–८ का अध्यक्ष बिनोद गौतम बीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो भने दक्षिण कोरियाको मुङ्गयोङ्ग नगरपालिका सँग भगिनी सम्बन्धको लागि मुङ्गयोङ्गका नगरप्रमुख ह्योनकोङ सिङ र धुलिखेल नगरप्रमुख बीच दुईपक्षीय सम्झौता समेत भएको छ । ३९ औँ स्थापना दिवसका अवसरमा नगरपालिकाको मुख्य उपलब्धीहरुको संगालो बुकलेट स्वस्थ शहर धुलिखेल लोकार्पण गरियो । कार्यक्रममा नगरको शान बढाउनका लागि अतुलनिय भुमिका खेल्नु हुने व्यक्तित्वहरुलाई विभिन्न मानपदवी सहित सम्मान गरिएको थियो । धुलिखेल रत्न सम्मान धुलिखेल अस्पतालका डा.दिपक श्रेष्ठलाई, धुलिखेल नक्षत्र सम्मान पूर्व नगर उपप्रमुख विमला शर्मा चौलागाईलाई, धुलिखेल प्रज्ञाश्री सम्मान गायीका योजना खड्कीलाई, धुलिखेल सेवाश्री सम्मान काठमाण्डौ विश्व विद्यालयलाई, धुलिखेल तारा सम्मान जि.आई.जेट सानेपा, एथ्लेटिक्सका स्वर्णपदक विजेता पुष्पलाल श्रेष्ठ, धुुलिखेल १२ का आमोदनाथ प्याकुरेल, अखिल नेपाल फुटबल संघ एन्फा ललितपुर, धुलिखेल ७ का चुनियालाल श्रेष्ठलाई प्रदान गरिएको थियो भने जनश्री सम्मान नगरका इन्जीनियर रोजन ताम्राकार र शिक्षा शाखाका अशोक घिमिरेलाई प्रदान गरियो । नगरका अधिकृत विदुर गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा शैक्षिक क्षेत्रमा उच्चतम जिपिए ल्याउने छात्रा पुजना भुजेल, मनिसा ढुङ्गेल, आरजु सुवाल, सुदृष्टि घिताल, छात्र प्रवेश श्रेष्ठ र सेतीदेवी मावि धुलिखेल २ लाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कर्मचारी दीर्घ सेवा सम्मान श्रीविक्रम व्याञ्जु, मिनगोपाल तखाछे, ध्रुव प्रसाद पराजुली, जुठे तामाङ, रघु बहादुर तामाङ, मिन वहादुर तामाङ र सुरेश प्रसाद अधिकारीलाई प्रदान गरियो । नगरपालिकाको साँस्कृतिक पहिचान झल्काउने विभिन्न नाच सहितको ¥याली सम्पन्न पश्चात आयोजित औपचारीक कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपक गौतम, बनेपा नगरका प्रमुख शान्तिरत्न शाक्य, धरान उप महानगरका उपप्रमुख आईन्द्र विक्रम बेघा, काठमाण्डौँ विश्वविद्यालयका कार्यकारी उपकुलपति डा. अच्युत प्रसाद वाग्ले, विभिन्न पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, धुलिखेल नगरका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासीनी, राजनीतिक दलका प्रमुखहरु, जनप्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, समाजसेवी, विद्यार्थी, शिक्षक शिक्षिका, कर्मचारी तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
