बाढीपहिरो गएको ५ महिना वित्न लाग्दा समेत बेथानचोक गाउँपालिका वडा नं. ३ कुनेखर्कको श्रीज्ञानज्योती प्राथमिक विद्यालयको पूर्ण क्षति भएको ब्लक भवनमा कपडाको पर्दाले बारेर कक्षा कोठामा पढ्न बाध्य छन् विद्यार्थी । बालविकास देखि ५ कक्षा सम्मको अध्यापन हुने उक्त विद्यालयमा ४६ जना विद्यार्थी अध्ययनरत छन् । गत असोज १० गते देखि १२ सम्म परेको अविरल वर्षातका कारण गएको वाढी पहिरोबाट आएको लेदो र गेगर ब्लक भवनको कक्षा २ र ३ मा पसेर पुर्ण क्षति भएको थियो । अफिस कोठा सहित लेदो र गेगरले भरी भराउ भएर फर्निचर सामाग्री र कम्प्युटर, प्रिन्टर, प्रशासनिक कागजपत्र सबै पूर्ण नष्ट भएको कुरा विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । आजका बालबालिका भोलिका देशका कर्णधार हुन उनीहरु अध्ययन गर्ने विद्यालयको मन्दिर भित्र ब्लक भवनको पछाडी भागबाट लेदो सहितको गेगर र भेलनै पसेर पूर्ण क्षति पुग्दा गाउँपालिकाले कुनै खालको सहयोग उपलब्ध नगराएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलबहादुर थापामगरले बताउनुभयो ।
अफिस कोठा र किचन कोठामै पर्दाले बारेर बालबालिकाहरु सामन्य चकटी ओछ्याएर चिसो भुइँमा पढ्न बद्यय छन । बाढीपहिरो गएको ५ महिना बित्न लाग्दा सम्म गाउँ पालिकाले भवन बन्ने कुनै दिगो योजना त कोठा भित्रको लेदो र गेगर पन्छाउन समेत कुनै सहयोग नगर्दा बालबालिकाहरु अध्ययनबाट बन्चित हुने अवस्था आएको ब्यवस्थापन समिति अध्यक्ष थापामगरले उल्लेख गर्नुृभयो ।
पक्की भवन र खेलकुद मैदानको आवश्यकता
बालबालिकाहरु कक्षा कोठाको पातलो दरीमा चकटी राखेर पढ्नु पर्ने अवस्था छ । बाढीपहिरोबाट आएको ठूलो भेलको लेदोले कक्षा कोठा भरिएपछि फर्निचर सामाग्री सबै नष्ट भएको बस्ने डेक्स बेञ्चको अभावत छदैछ । विद्यार्थीहरुको चौतर्फी विकासकोलागि खेलकुद मैदानको आवश्यकता छ । त्यस्तैगरी पक्की भवन निर्माणको लागि वडा कार्यालय र गाउँपालिकाको पहलमा दात्री निकाय वा प्रदेश सरकारले बजेट उपलब्ध गराएको खण्डमा यहाँका बालबालिकाको शिक्षाको ज्योति हाँसिल गर्ने थप अवसर जुट्छ भन्ने मैले अपेक्षा लिएको छु ः– प्रधानाध्यापक तिमल्सिनाले भन्नुभयो । विद्यालयमा ३ शिक्षकको दरवन्दी रहेको एक जना अवकास भई जानुभयो । कर्मचारी–१, बाल विकासका एक र घुम्ती शिक्षक एक जना गाउँपालिकाले उपलब्ध गराएको छ । स्थायि शिक्षक दरवन्दी चाँडो आइदिए राम्रो हुने कुरा प्रअ तिमल्सिनाले उल्लेख गर्नुभयो ।
शैक्षिक संस्थामा ९ करोडको क्षति
बेथानचोक गाउँपालिकामा सामुदायिक ३० र २ वटा संस्थागत गरी ३२ वटा विद्यालयहरु सञ्चालन छन् । पूर्ण क्षति भएको शैक्षिक संस्था आधादर्जन जति भएको र वाढीपहिरोको कारण आँगन भत्केको, पर्खाल लडेको, विद्यालयको छानाहरु विग्रेको, विद्यालय जाने सडक सञ्जाल विग्रेको गरी करीव ९ करोड बराबरको क्षति भएको शिक्षा शाखा प्रमुख पुष्पा राइले बताउनुभयो ।
