पनौती । मानेश्वरी ब्वाइज क्लवको आयोजना तथा पनौती नेपाल र विश्राम समाजको सह आयोजनामा क्लवका निवर्तमान अध्यक्ष लक्ष्मी नारायण (लक्ष्य) स्मृति खुल्ला फुटबल प्रतियोगिता फागुन ३ गतेदेखि पनौती क्षेत्रिय रंगशालामा हुने भएको छ । अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा लक्ष्मी नारायण स्मृति कपका बारेमा जानकारी गराउँदै प्रतियोगिताको ब्यवस्थापन, सहभागि टिम तथा पुरस्कारका बारेमा जानकारी गराइएको थियो । नेपालका प्रतिष्ठित ए र बि डिभिजनका क्लवहरु, छिमेकी जिल्लाका क्लवहरु विभागीय टिम गरी १५ भन्दा धेरै टिमको सहभागिता रहने छ ।
उक्त प्रतियोगितामा विजयी हुने टिमले नगद २ लाख सहित ट्रफि, प्रमाणपत्र तथा अन्य पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टिमले नगद १ लाख सहित अन्य पुरस्कार प्राप्त गर्नेछ । अनुशासित क्लव, प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट प्रतिरक्षक, खेल अवधिभरको उत्कृष्ट खेलाडीका लागि २ लाख ५० हजार नगद पुरस्कार उपलब्ध गराइनेछ । पुरस्कारका लागि ५ लाख ५० हजार रुपैयाँ खर्च हुने अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए । प्रतियोगिताको कूल खर्च भने १७ लाख बढी हुने पनि जानकारी दिइएको थियो ।
