काभ्रे पाँचखाल–१० आचार्यगाउँमा जन्मिएका दीपक आचार्य समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ लोकार्पण भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच संचारकर्मी समिरको पहिलो साहित्यिक कृति ‘मुना मदनको डिभोर्स पार्टी’ को बिमोचन भएको हो ।
नेपाल टेलिभिजनका पूर्वमहापब्रन्धक फूलमान वल तामाङले ‘मुना मदनको डिभोर्स पार्टी’को बिमोचन समारोहमा आफूले समिरको लेखकीयमा समकालीन साहित्यको अति यथार्थवाद र स्वकल्पनशैली भेटेको तामाङको भनाइ थियो । आजको समाजका बिसंगत पाटालाई ‘मुना मदनको डिभोर्स पार्टी’ को मुल कथाले बोलेको र समिर कुमार नगरकोटीको क्लासका लेखक रहेको उनको भनाइ थियो ।
‘मुना मदनको डिभोर्स पार्टी’ पढ्दै गर्दा लेखकको शब्दसँग नभएर व्यक्तिको व्यवहारसँग हाम्रो आपत्ति हुनुपर्ने आभास भएको लेखक तथा समालोचक डा. गीता त्रिपाठीले बताइन् । समिरका सबै जसो कथाले हाम्रो समाजमा विध्यमान समस्या र बिकृति खुल्ला अर्थतन्त्र र बजारीकरण निम्त्याएको र त्यससँग कसरी जुध्ने भन्ने विषय समिरका कथाले उठान गरेको त्रिपाठीको भनाइ थियो। ‘मुना मदनको डिभोर्स पार्टी’ मा संग्रहित १४ वटा कथाहरु छन् । ‘मुना मदनको डिभोर्स पार्टी’ पाठक सामु ल्याउनुअघि आफू धेरै डराएको र अन्तिममा रिक्स लिएरै सो पुस्तक पाठकसामु लिएर आएको लेखक दिपक समिरले बताए । समारोहमा डा महेन्द्र बिष्ट, टंक उप्रेती लगायतले बोलेका थिए ।
