अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले स्थानीय तथा प्रदेश सरकारको सेवा जटिल र खर्चिलो हुँदा जनताले सहज र सरल सेवा पाउन नसेकेको बताएका छन् । आयोगको ३४ औं वार्षिकोत्सव समारोहमा उनले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्बन गर्न आवश्यक देखिएको बताए । प्रमुख आयुक्त राईले सार्वजनिक प्रशासनको सेवा प्रवाहलाई पनि थप अनुमानयोग्य, सरल, सुलभ र व्यवस्थित बनाउनुपर्ने बताएका छन् । उनले सार्वजनिक निकायले सम्झौता बमोजिम गर्नुपर्ने कामको समयमा पत्राचार नगर्ने, निर्णयमा ढिलाइ गर्ने, कामको स्थलगत प्रगति अभिलेख र प्रतिवेदन नगर्ने, निर्माण व्यवसायीलाई समयसमयमा दिनुपर्ने निर्देशन परामर्शदाता वा निर्माण व्यवसायीको कारण आयोजनाको कारण आयोजना हुने ढिलाइको अभिलेख उपयुक्त तरिकाले नराख्ने लगायत प्रशासनिक कमजोरी हुने गरेको बताए ।
