बनेपा/समुदायमा आधारित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले भकुण्डेवेशी सेवा कार्यालय अन्तर्गतका समूह संयोजक एवं प्रतिनिधीको भेला गरेको छ । बुधवार भकुण्डेवेशीमा विभिन्न समूहका संयोजकको भेला गरेर सहकारीले आफ्ना सदस्यलाई प्रगति विवरण, वर्तमान सहकारी ऐन, कानून, अध्यादेश, मापदण्ड, निर्देशनबारे जानकारी गराएको हो । सहकारी संस्थाको साधारणसभामा मात्र नभइ जानकारी दिएने उद्धेश्यले प्रत्येक ३/३ महिनामा यस्ता भेला आयोजना गर्ने गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बि लामा स्याङ्तानले बताउनुभयो ।
कार्यक्रममा भकुण्डेवेशी सेवा कार्यालय व्यवस्थापक राजेन्द्र श्रेष्ठले सेवा कार्यालयको पुष मसान्तसम्मको प्रगति प्रतिवेदन पेश गरेका थिए । उनका अनुसार, सेवा कार्यालय अन्तर्गत १ सय २५ महिला समूहसहित कुल २ सय ८१ समूह छ । नमोबुद्ध नगरपालिकाका साथै रोशी र तेमाल गाउँपालिकाका ६ हजार १ सय १५ जना शेयर सदस्य र ८ सय ३४ बाल बचतकर्तालाई सेवा कार्यालयले सेवा दिइरहेको छ । सेवा कार्यालय अन्तर्गत २ करोड ७८ लाख ८६ हजार शेयर पुँजी छ भने १३ करोड ९४ लाख ७ हजार बचत छ । १७ करोड ७२ लाख ९३ हजार कुल पुँजी रहेको सेवा कार्यालयले अन्य कार्यालयमार्फत समेत गरी ३७ करोड ११ लाख ऋण लगानी गरेको छ । ४ सय ५६ जनालाई सहकारी शिक्षा तालिम, १६ जनालाई लघुउद्यम व्यवस्थापन तालिम, पूर्व सहकारी शिक्षा तालिम दिएको सहकारीले चालु आर्थिक बर्षको हालसम्मको अवधीमा ८ लाख ६८ हजार बराबरको राहत रकम उपलव्ध गराएको छ ।
६९ हजार १३ जनालाई सेवा दिइरहेको सहकारीमा पुष मसान्तसम्म ५३ करोड ९७ लाख १५ हजार ५ सय शेयर पुँजी, ३ अर्ब ८७ करोड २ लाख ५७ हजार बचत रहेको जनाएको छ । ३ अर्ब ४७ करोड ४० लाख ८८ हजार ऋण लगानी गरेको सहकारीको कुल कारोबार ५ अर्ब ५१ करोड २३ लाख ८७ हजार छ । संस्थाका कोषाध्यक्ष भीमबहादुर के.सी.ले सहकारी ऐन, कानून, अध्यादेश, मापदण्ड, निर्देशन, परिपत्रको सवालमा जानकारी गराउनु भएको थियो । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठले सहकारी क्षेत्रका नयाँ ऐन, कानून र सहकारी संस्थाका बारेमा जानकारी दिने उद्धेश्यले यस्ता खालका कार्यक्रम गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका सहकारी सञ्जालका अध्यक्ष हरिप्रसाद तिमल्सिना, सञ्चारकर्मी नगेन्द्र अधिकारी, भकुण्डेवेशी सेवा कार्यालय व्यस्थापन उपसमितिका संयोजक श्यामकृष्ण श्रेष्ठ, सचिव रामशरण श्रेष्ठ, कोषाध्यक्ष विदुर बर्तौला, शेयर सदस्य कोपिला दाहाल लगायतले मन्तव्य राख्नु भएको थियो ।
