इनोभेटिभ एकेडेमी बनेपाको २० औँ वार्षिक उत्सव, एसईई विदाई एवं पुरस्कार वितरण कार्यक्रम आइतबार बनेपा पार्टी भेन्युमा सम्पन्न भएको छ । बनेपा नगरपमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.केवी मानन्धरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाक्यले सरकारी र नीजी क्षेत्रबाट आउने विद्यार्थीहरुको समान क्षमता राख्नका लागि आफूले पहल गरिरहेको उल्लेख गर्नुभयो । शैक्षिक क्षेत्रमा इनोभेटिभ एकेडेमीले उत्कृष्ट प्रगति गरेकोमा विद्यालय परिवारलाई धन्यबाद व्यक्त गर्दै उहाँले नगरभित्रका विद्यालय सुधार अभियानमा सबैको साथ सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा काठमाण्डौ विश्वविद्यालय स्कूल अफ साइन्सका डिन प्रोफेसर डा. जनार्धन लामिछाने, पूर्व डिन प्रोफेसर डा. कनैया झा, विभागिय प्रमुख प्रोफेसर डा. रामप्रसाद घिमिरे, गणित विभागका प्रमुख प्रोफेसर डा. रविन्द्र कायस्थ, डा. उमेश राजोपाध्याय, काभ्रे प्याब्सनका अध्यक्ष श्याम भुजेल, बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्ट, अभिभावक, शिक्षक शिक्षिका, पत्रकार, समाजसेवी एवं विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । विविध सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरिएको कार्यक्रममा विद्यालयकी प्रिन्सिपल पुनम श्रेष्ठ मानन्धरले विद्यालयको गतिविधि र प्रगतिका बारेमा आफ्नो भनाई राख्नुभएको थियो । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
