सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती–४, टौखालको ३१ औं स्थापना तथा एकीकरण दिवस सोमबार सम्पन्न भएको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष मुकुन्द शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, पनौती नगरपालिका वडा नंं ४ का अध्यक्ष दिपक प्रसाद दाहाल, बागमती प्रदेश सहकारी संघ लि.का सचिव देवराज न्यौपाने, जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, नेपाल रेडक्रस सोसाईटी काभ्रेका उप सभापति ज्ञान बहादुर लामा, संस्थाका सल्लाहकार शम्भुलाल श्रेष्ठ, संस्थाका निवर्तमान अध्यक्ष प्रकाश बन्जारा लगायत सहकारीकर्मीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । संस्थाको प्रतिनिधित्व गरी बागमती प्रदेश सहकारी संघको कोषाध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा संस्थाका सल्लाहकार शम्भुलाल श्रेष्ठ, जिल्ला बचत संघ काभ्रेपलाञ्चोकको सचिव हुनु भएकोमा संस्थाका निवर्तमान अध्यक्ष प्रकाश बञ्जारा र संस्थाका पूर्व कर्मचारी सुरेश थापा राष्ट्रिय सहकारी महासंघको महाप्रवन्धक पदमा नियुक्त भएकोमा सम्मान गरिएको थियो । संस्थाको स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालय तथा निजि विद्यालयतर्फ आवेदन प्राप्त भएका मध्ये उत्कृष्ट अंक हासिल गर्ने संस्थाका सदस्य तथा परिवार मध्येबाट छात्र तथा छात्रा गरी ४ जनालाई उत्कृष्ट एस.ई.ई. सम्मान, ३ जनालाई सामुदायिक छात्रवृत्ती, ८० वर्ष भन्दा माथिका ३५ जना ज्येष्ठ सदस्यहरुको सम्मान, साथै संस्थाका उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट बचतकर्ता सदस्यहरु र उत्कृष्ट ऋणी सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा वर्षको उत्कृष्ट कर्मचारीको रुपमा युवाज्योती सेवाकेन्द्रमा कार्यरत बजार प्रतिनिधी सुजना तामाङ र उत्कृष्ट सेवा केन्द्रको रुपमा कुन्तावेशी सेवाकेन्द पुरस्कृत भएको थियो । प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको स्थापनाकालदेखि हालसम्मको अवस्था, स्थापनाको आवश्यकता र उद्देश्य लगायत विषयमा आफ्नो भनाई राख्नुभयो । संस्थाका सचिव सरोजकुमार तिमल्सेनाले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष भवानी थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । स्थापना दिवसको अवसरमा संस्थाले आफ्नो मुख्य कार्यालय प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४५जना रक्तदाताहरुले रक्तदान समेत गरेका थिए भने १९ वटै कार्यालयमा द्विप प्रज्वलनका साथै ईन्द्रेश्वर मन्दिर प्रांगणमा सरसफाई गरिएको थियो ।
