२८६१ डुल सोनाम ल्होछारको अवसरमा बनेपामा मेला तथा महोत्सव हुने भएको छ । औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ मा रहेको उग्रेश्वर मन्दिरको खाली जग्गामा माघ १६ गते देखि २२ गतेसम्म सोनाम ल्होछार मेला तथा महोत्सव २०८१ आयोजना गरिएको हो । तामाङ जातिको बाक्लो बसोबास रहेको जिल्लामा सांस्कृतिक रूपमा संरक्षण, प्रचारप्रसार गर्ने र सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यका साथ मेला तथा महोत्सव गर्न लागिएको कार्यक्रम संयोजक क्षेत्रबहादुर वाइबाले जानकारी दिनुभयो ।
कृषि क्षेत्रको प्रवद्र्धन तथा आधुनिक कृषितर्फ किसानहरुलाई उजागर गराई स्थानिय स्तर तथा स्वदेशमै उत्पादित वस्तु र सेवाको विकास तथा बजार विस्तार गर्न, सम्पूर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार तथा प्रवद्र्धन गर्न, घरेलु, साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका वस्तुको वजार प्रवद्र्धनमा टेवा पु¥याउन ग्रामिण क्षेत्रमा उत्पादन हुने हस्तकलाका सामग्रीहरु, सीप मुलक तालिम र तालिमवाट उत्पादन वस्तुको प्रवद्र्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको सञ्चारकर्मीलाई सम्मेलनमा जानकारी दिइएको थियो ।
मेलामा लघु उद्यम प्रदर्शनी, अटो प्रर्दशनी, कृषि प्रर्दशनी, गार्मेन्टका उत्पादन, जुत्ता चप्पल, वैकल्पिक उर्जा, पर्यटन प्रवद्र्धन, गुणस्तरिय दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री तथा औजार, सूचना प्रविधि तथा विद्युतिय सामाग्री, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सेवाहरु सहितका ६० भन्दा बढी स्टलहरु रहनेछन् ।
स्थानीय पहिचान झल्काउने झाँकी तथा जातविशेषको नाचसहितको सास्कृतिक कार्यक्रमसहित तामाङ समुदायका रहनसहन, भेषभुषा र खानाका परिकारसहित स्थानीय खानाका विशेष परिकारहरु, वाल उद्यान महोत्सवका आकर्षण रहने आयोजकले जानकारी दिएका छन् । काभ्रे जिल्लाको डाँडापारि क्षेत्रमा उत्पादित कृषिजन्य सामग्रीहरूको प्रदर्शनी हुने महोत्सवमा करीब सवा दुई लाख जनाले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।
