वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको ‘मुटुको कथा’ कृति सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा मंगलबार आयोजित समारोहमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ मकाजु, मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्य, हास्यकलाकार हरिवंश आचार्य र लेखक कोजुले सार्वजनिक गर्नुभएको हो ।
बुक हिलले प्रकाशन गरेको उक्त कृतिमा मुटुको कथा, बा छाति त दुखेको छैन नि ? हत्तेरिक्ता औषधि नै छुट्यो, नुनको आत्मकथा, रक्सी समातेपछि र छाडेपछि, फेरिएको जीवन शैली, स्वस्थ जीवन र प्रार्थनासहित ४१ शीर्षकमा अनुभव, अनुभूति र घटनासम्बन्धी विषयवस्तु समेटिएका छन् ।
कार्यक्रममा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतले तुलनात्मकरुपमा नेपालको स्वास्थ्य क्षेत्र राम्रो रहेको र त्यसमा स्वास्थ्यकर्मी र चिकित्सकहरुले व्यावसायिक धर्म तथा बिरामीप्रति करुणा व्यक्त गर्न सकेमा अझ प्रभावकारी हुने धारणा राख्नुभयो ।
मुटुरोग विशेषज्ञ डा. कोइरालाले समाज रुपान्तरणका लागि किताब लेखन र अध्ययनको प्रभाव लामो समयसम्म रहने उल्लेख गर्दै हामीले व्यतित गरेको जीवनशैली र खानपिनमा सामान्य सुधार गर्न सके राम्रो स्वास्थ्यलाभ लिन सकिने अनुभव सुनाउनुभयो । उनले भने, ’मैले बिरामीलाई सधैँ भन्दै आएको छु, गर्न नहुने भनेको चुरोट नखाने, गर्नैपर्ने भनेको व्यायाम रहेको छ ।’
लेखक डा. मकाजुले पुस्तक अध्ययनबाट धेरै ज्ञान प्राप्त हुने भएकाले मुटुको कथासम्बन्धी पुस्तकले अध्ययनका लागि थप प्रेरणादायी भएको बताउनुभयो । लेखक कोजुले आफूले विभिन्न पत्रपत्रिकामा विभिन्न समय कालखण्डमा लेखिएका लेखहरुबारे उपचार गर्न आउने बिरामी र चिनेका व्यक्तिबाट पाएको प्रतिक्रियाबाट प्रेरित भएर पुस्तक लेख्ने जमर्को गरेको बताउनु भयो । उनले जीवनको ४० वर्ष चिकित्सासम्बन्धी ज्ञान हासिल गर्ने सिलसिलामा २३ वर्ष मुटु स्वास्थ्यमै केन्द्रित भएर उपचारमा संलग्न हुँदा देखेका, भोगेका विषयवस्तुलाई सरल तरिकाले सर्वसाधारणसम्म पु¥याउन कथा, निबन्ध र स्मरण समेटेर पुस्तक प्रकाशन गरेको उल्येख गर्नुभयो ।
